Aamsanchar

‘सामाजिक सञ्जालमा भ्रामक सूचना र मानहानी गर्नेहरूलाई पाँच वर्षसम्म कैद सजाय’

Author Image
सोमवार, भदौ ३०, २०८२

काठमाडौं । सामाजिक सञ्जालमार्फत भ्रामक र उत्तेजक सूचना प्रकाशन गर्ने तथा मानहानी गर्ने कार्यलाई नेपालमा गम्भीर अपराधका रूपमा लिइएको छ। यससम्बन्धी प्रावधान इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ र मुलुकी फौजदारी संहिता, २०७४ मा व्यवस्था गरिएको छ।

इलेक्ट्रोनिक कारोबार ऐनको धारा ४७ अनुसार अश्लील, जातीय वा धार्मिक विद्वेष फैलाउने, आतंक सिर्जना गर्ने वा समाजलाई नकारात्मक असर पार्ने सूचना सामाजिक सञ्जाल वा अन्य इलेक्ट्रोनिक माध्यमबाट प्रकाशन वा प्रसारण गर्न पाइँदैन। यस्तो कार्यमा संलग्नलाई पाँच वर्षसम्म कैद, एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

त्यस्तै, सामाजिक सञ्जालमा कसैको व्यक्तिगत इज्जत, प्रतिष्ठा र छविमा प्रहार गर्ने खालका टिप्पणी वा सामग्री पोस्ट गर्नु मानहानी अपराध मानिने प्रावधान छ। मुलुकी फौजदारी संहिता अनुसार मानहानी गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद, ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

संसद् भवनभित्र ३२ जनाको शव भेटिएको, जेल तोडेर रवि लामिछानेलाई निकाल्नुपर्ने, कनकाईका मेयरको घरमा ८० केजी सुन, दुई बोरा चाँदी भेटिएको जस्ता आधारहीन सूचनाको चर्को आलोचना भइरहेको छ । यो सूचना फैलाउनेहरुलाई मुद्धा हाल्ने तयारी गरिएको कनकाईका मेयर राजेन्द्र पोखरेलले आमसंचारलाई बताए ।

नेपाल प्रहरीको साइबर ब्यूरोले पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत मानहानी, गालीगलौज, गलत प्रचार र फेक न्युजसम्बन्धी उजुरी बढेको जनाएको छ। प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न र अपुष्ट वा अरूलाई हानि हुने जानकारी नफैलाउन सबैलाई आग्रह गरेको छ।

Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर