काठमाडौं । अब दशैंको मुख्य दिन बाहेकका सार्वजनिक बिदामा पनि बैंक र भन्सार बन्द हुने छैनन्। अर्थ मन्त्रालयले व्यापारी तथा उद्योगीलाई सहज बनाउन यस्तो व्यवस्था मिलाउने भएको हो।

मंगलबार मन्त्रालयमा भएको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले यो व्यवस्था कार्यान्वयन हुने जानकारी दिए। उनले चीनतर्फको तातोपानी नाका पहिरोले अवरुद्ध भएपछि व्यापार प्रभावित भएको र बाटो खुलाउन सरकार प्राथमिकतासहित काम गरिरहेको बताए।

सो छलफलमा अर्थमन्त्री रामेश्वर खनालले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, उद्योग परिसंघ, अटो डिलर्स एसोसिएसनसहित चौधरी ग्रुप र भाटभटेनी ग्रुपका प्रतिनिधिसँग सुझाव लिएका थिए।

व्यवसायीहरूले तत्कालीन चुनौती पार गर्न कर छुट, सहुलियतपूर्ण कर्जा र बीमा रकम छिटो भुक्तानीको माग राखे। जवाफमा अर्थमन्त्री खनालले ‘एकीकृत व्यापार पुनरुत्थान योजना’ ल्याइने तयारी भएको भन्दै कर तथा मौद्रिक नीतिबाट सहयोग गर्ने विषयमा सरकार सकारात्मक रहेको स्पष्ट पारे।



