Aamsanchar

नेताहरू फेरि उठ्ने दाबी गर्छन् — ‘अझै हामी फेरि उठ्नेछौं’

Author Image
बुधवार, असोज १, २०८२

देश अहिले पनि उठ्न सकेको छैन। निजी क्षेत्र निष्क्रिय छ, उत्पादन र लगानीमा ठप्पावस्था छ। रोजगारीको अवसर घट्दै गएको छ र नागरिक जीवन दबाबपूर्ण बन्दै गएको छ। यस्तो अवस्थामा पुराना नेताहरू भने फेरि सक्रिय हुँदै, पुरानै लयमा फर्किएका देखिन्छन्।

पार्टी कार्यालयहरू झन्डाले छोपिएका छन्। भित्ताहरूमा ठूला ब्यानर टाँसिएका छन्। रंगीन झन्डाले इमारत सजिए पनि भित्रको शून्यता देखिँदैन भन्ने होइन। प्रश्न यहीँ छ—पार्टी कार्यालय झन्डाले छोपेपछि लाज के ले छोपिन्छ ?

यसलाई दुई दृष्टिकोणबाट बुझ्न सकिन्छ।
पहिलो, सकारात्मक पक्ष—पुराना नेताहरू अझै क्रियाशील छन्, आफ्नो राजनीतिक हैसियत पुनः स्थापित गर्ने प्रयासमा छन्। यसले मुलुकलाई राजनीतिक रिक्तताबाट जोगाउन सक्छ भन्ने तर्क समर्थकहरूले गर्छन्। अनुभव, नेटवर्क र संगठनात्मक पहुँच उनीहरूमा अझै छ।

तर दोस्रो, नकारात्मक पक्ष—देश संकटमा हुँदा पनि नेताहरू पुरानै सत्ता–खेल र भागबन्डामा सीमित देखिनु हो। यो शैलीले जनताको विश्वास ह्रास गराउँछ र आर्थिक–सामाजिक पुनरुत्थानलाई पछि धकेल्छ। मुलुकलाई उकास्न चाहिने दीर्घकालीन योजना, नीति–निर्माण र संकट व्यवस्थापनभन्दा नेताहरूको प्राथमिकता फेरि पनि व्यक्तिगत र गुटगत स्वार्थमै सीमित देखिन्छ।

देश संकटमा छ, जनता निराश छन्, निजी क्षेत्र सुन्य छ। तर नेताहरू फेरि उठ्ने दाबी गर्छन्—“अझै हामी फेरि उठ्नेछौं रे।” तर कसरी? उही पुरानो शैली, उही खोक्रो भाषण र उही सत्ता–भागबन्डाको खेलमार्फत्?

झन्डाले कार्यालय छोप्न सकिएला, तर जनतासँगको असफलता र वाचा–विश्वास तोडिएको इतिहास छोपिँदैन। लाज छोप्ने कुरा कार्यलयको भित्ताभित्र होइन, नेताहरूको चरित्र र आचरणभित्र हुनुपर्ने हो।

साँचो प्रश्न यही हो—देश उठाउनुपर्ने बेला अझै नेताहरूको उठ्ने कुरा मात्र किन सुनिन्छ? जनतालाई लाग्छ—यो फेरि उठ्ने कथा होइन, फेरि बस्ने तयारी मात्र हो।

निष्कर्षतः, देश उठाउन नेतृत्व आवश्यक छ। तर नेतृत्व पुरानै लयमा सीमित रह्यो भने मुलुक फेरि अघिल्लै चक्रव्यूहमा फस्ने खतरा छ। अब नेताहरूले परिस्थिति गम्भीरतापूर्वक बुझेको देखाउनुपर्छ—अन्यथा, जनताले नयाँ विकल्पको खोजी गर्न बाध्य हुनेछन्।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर