Aamsanchar

प्रहरीको गोली लागेर ज्यान गुमाएका २१ वर्षीय प्रविनको शव सङ्खुवासभा ल्याइयो

Author Image
बुधवार, असोज १, २०८२

खाँदबारी – जेनजी समूहको आन्दोलनमा काठमाडौंमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रविन कुलुङको शव जिल्ला ल्याइएको छ । कुलुङको शव बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत् ल्याइएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् । गाउँपालिका केन्द्र ताम्कुमा भएको श्रद्धाञ्जली कार्यक्रममा गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर शहीदको सम्मान गरेका छन् । उक्त श्रद्धाञ्जली सभा पश्चात शव मृतकका आफन्तलाई बुझाइएको छ ।

कुलुङको अन्त्येष्टि सिलिचोङस्थित लकुवामा गर्ने तयारी छ । प्रविन बाल किशोर कुलुङका तीनभाइ छोरामध्ये माइला हुन् । सिलिचोङ –३ स्थित लकुवामा कुलुङ जातिको जातीय संस्कार अनुसार अन्त्येष्टि गरिने आफन्तले जनाएका छन् । सरकारले भदौ २३ र २४ गते काठमाडौंलगायत देशभर भएको जेनजी समूहको आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्दै सम्मानस्वरूप बुधबार सार्वजनिक बिदा दिएको छ।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर