

काठमाडौँ – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । नयाँ वानेश्वरमा रहेको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको संसद् भवन अवलोकनका क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा सभामुख घिमिरेलेले सो कुरा बताएका हुन् ।सभामुख घिमिरेले भने– ‘प्रतिनिधिसभा विघटन नगरी संसदबाटै समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो ।’ जेनजीको आन्दोलनमा घटेका घटना ज्यादै दुःखद रहेका सभामुख घिमिरेले बताए । अब अहिलेको परिस्थितिबाट उठेर ठिक ढङ्गबाट अगाडि जानु सबैको दायित्व रहेको घिमिरेले बताए ।

अन्तरिम सरकारले अहिले देखिएका समस्या समाधान गरी अगाडि बढ्नुपर्ने बताए । सभामुख घिमिरेले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको बताए ।यस घटनाको समीक्षा गरेर देशलाई उठाउनका लागि आम मान्छे, आम जनता, आम क्षेत्र सबै लाग्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो ।

