Aamsanchar

जेनजी आन्दोलनमा घाइते १९६ जना अझै अस्पतालमै, झापास्थित बी एण्ड सीमा १७ जना

Author Image
बिहिवार, असोज २, २०८२

काठमाडौँ –  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका १९६ जनाको अस्पतालमा उपचार भइरहेको छ।

।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपत्‌कालीन तथा विपद व्यवस्थापन एकाइले उक्त आन्दोलनमा घाइते भएका र विभिन्न संघीय अस्पताल, प्रादेशिक अस्पतालहरू तथा स्वास्थ्य आपत्‌कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क र समन्वय गरी प्राप्त गरेको विवरणमा गत २३ र २४ भदौमा भएको आन्दोलनका घाइतेमध्ये अझै पनि १९६ जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका हुन्।

४८ जनाको अस्पतालमा मृत्यु

जेनजी आन्दोलनमा गृह मन्त्रालयले अहिलेसम्म ७३ जनाले ज्यान गुमाएका छन्। तीमध्ये ४८ जना भने अस्पतालमा घाइते भएर आएका वा ल्याउँदा ल्याउँदै मृत्यु घोषणा गरिएको संख्या हो।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले आन्दोलनका क्रममा घाइते भई उपचारका लागि अस्पताल आउनेको संख्या २ हजार ३१६ पुगेको बताए।

उपचारपछि डिस्चार्ज भएकाहरूको संख्या एक हजार ९५९ रहेको छ। विभिन्न अस्पतालबाट विशेषज्ञ सेवाका लागि रिफर गरिएको घाइतेको संख्या ८४ रहेको उनले जानकारी दिए।

डा. अधिकारीका अनुसार उपचारमा रहेका १९६ घाइतेमध्ये काठमाडौँ उपत्यकाभित्रका १६ वटा अस्पताल र उपत्यकाबाहिर १६ वटा गरी कुल ३२ वटा अस्पतालमा उपचाररत छन् । ‘उक्त घटनामा घाइते हुनु भएकाहरु अझै पनि केही अस्पतालमा उपचाररत हुनुहुन्छ भने धेरै डिस्चार्ज भइसक्नु भयो। सबैभन्दा धेरै घाइते काठमाडौँ उपत्यकामा हुनु भएको छ’‚ डा अधिकारीले भने।

हाल अस्पतालमा रहेका घाइतेमध्ये सबैभन्दा धेरै २८ जना घाइतेको अहिले ट्रमा सेन्टरमा भइरहेको छ। यसपछि पानीपोखरीस्थित पुलिस अस्पतालमा १८ जना, त्रिवि शिक्षण अस्पताल र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा समान १७ र १७ जना, वीर अस्पतालमा सातजना, घटनाको पहिलो दिन सबैभन्दा धेरै घाइते पुर्‍याइएको मीनभवनस्थित सिभिल अस्पतालमा ३ जनाको उपचार भइरहेको डा अधिकारीले बताए।

उपत्यका बाहिर अहिले पनि धेरै घाइते झापास्थित बी एण्ड सी मेडिकल कलेजमा रहेका छन्। मन्त्रालयको विवरणअनुसार हाल त्यहाँ अहिले १७ जनाको उपचार भइरहेको छ।

उपत्यका बाहिर अस्पतालमा आएर मृत्यु हुने घाइतेको संख्या १२ जना र काठमाडौँ उपत्यकाभित्रका अस्पतालमा उपचारका क्रममा मृत्यु हुने घाइतेको संख्या ३६ जना रहेको मन्त्रालयले उल्लेख गरेको छ। सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई निःशुल्क उपचार गर्ने घोषणा गरिसकेको छ।

Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर