Aamsanchar

रास्वपामा रूपान्तरणको माग : डा. तोसिमा कार्कीको खुला पत्रले उठाएको प्रश्न

Author Image
शुक्रवार, असोज ३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीभित्रै रूपान्तरणको आवश्यकता औंल्याउँदै खुला पत्र सार्वजनिक गरेकी छिन्। उनले संस्थापक सभापतिमार्फत कार्यवाहक सभापतिलाई सम्बोधन गर्दै हालै सम्पन्न जेनजी आन्दोलनले ल्याएको नयाँ राजनीतिक परिस्थितिलाई सामना गर्न पार्टी नेतृत्व, सिद्धान्त, नीति र कार्यक्रम पुनःमूल्यांकन गर्नुपर्ने धारणा प्रस्तुत गरेकी हुन्।

डा. कार्कीले उक्त आन्दोलनलाई ‘तेस्रो जनआन्दोलन’को संज्ञा दिँदै, सरकारले गरेको कठोर दमनका कारण ७२ जनाको मृत्यु र हजारौँको घाइते भएको प्रसङ्ग स्मरण गराएकी छन्। उनका अनुसार नेपाल अहिले गम्भीर सङ्कटका दोबाटोमा उभिएको छ र अब पुरानो ढाँचामा राजनीति गर्न सम्भव छैन।

उनले पत्रमार्फत जेनजी मात्र नभई जेन–अल्फा पुस्ताको आकाङ्क्षा समेत समेट्दै सबै वर्ग र उमेर समूहको आवाजलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्। “देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु अपरिहार्य छ,” उनले भनेकी छन्।

कार्कीले रास्वपामा नेतृत्व, सिद्धान्त र कार्यक्रमको पुनःमूल्यांकन गरेर मध्यमार्गी राजनीतिक शक्ति निर्माण गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने माग गरेकी छन्। साथै, जेनजी आन्दोलनले उठाएको परिवर्तनलाई संस्थागत गर्न अन्य दल, विचार समूह र स्वतन्त्र व्यक्तिसँग संवाद र सहकार्य गर्न पनि उनले आग्रह गरेकी छन्।

यस किसिमको पत्र लेख्नुको भित्री मनासयबारे राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी हुन थालेका छन्। कतिपयले यसलाई पार्टी नेतृत्वप्रति असन्तुष्टि प्रकट गर्ने औपचारिक कदमका रूपमा व्याख्या गरेका छन् भने कतिपयले यसलाई आगामी राजनीतिक पुनःव्यवस्थापनमा रास्वपालाई सक्षम विकल्पका रूपमा प्रस्तुत गर्न खोजिएको रणनीति ठानिरहेका छन्।

संक्षेपमा भन्नुपर्दा, डा. तोसिमा कार्कीको पत्रले रास्वपाभित्र विचार र दिशाबारे गम्भीर बहस सुरु हुने संकेत दिएको छ।

Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर