बिर्तामोड । एशियन हाइवेअन्तर्गत झापाको चारपानेमा ओभरपास निर्माण कार्य औपचारिक रूपमा सुरु भएको एक महिना जति भइसकेको छ । निर्माण सहज बनाउन चारपाने चोकमा अस्थायी डाइभर्सन बनाई काम अघि बढाइएको हो । एशियन हाइवेअन्तर्गत झापाको चारपानेमा बन्ने ओभरपास निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको छ । चारपाने चोकमा एक महिना अघि काम सुरु भए पनि अपेक्षित गतिमा निर्माण अघि नबढ्दा स्थानीय स्तरमा असन्तोष बढ्न थालेको छ ।

काँकरभिट्टा–लौकही सडक आयोजना (पूर्वी खण्ड) अन्तर्गत झापाका चारआली, बिर्तामोड र चारपानेमा तीनवटा ओभरपास निर्माण हुनेछन् । हाल चारआली र चारपाने दुबै क्षेत्रमा निर्माण कम्पनीले काम थालेको जनाएको छ ।

आयोजनाका परामर्शदाता इन्जिनियर मानबहादुर मगरका अनुसार चारपानेमा पूर्वतर्फ २०७ मिटर र पश्चिमतर्फ ३०८ मिटरको ओभरपास बन्नेछ । त्यस्तै, बिर्तामोडको मुक्तिचोकमा पूर्वतर्फ २०० र पश्चिमतर्फ ३९० मिटर लम्बाइको तथा चारआलीमा पूर्व २५१ र पश्चिम २२६ मिटरको ओभरपास निर्माण हुने योजना छ ।


सडक निर्माण सम्झौताअनुसारै अघि बढिरहेको आयोजनाका प्रमुख सुनिलबाबु पन्तले जानकारी दिए । उनका अनुसार बिर्तामोडको ओभरपासमा आवतजावत सहज बनाउन अन्डरपासको समेत व्यवस्था गरिनेछ ।

योजना अनुसार बुट्टाबारीदेखि घाग्रा खोलासम्म ६ लेन सडक विस्तार हुने र केही क्षेत्रबाहेक अन्यत्र कालोपत्रे कार्य आगामी असार महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । पाँच किलोमिटरको खण्डगत रुपमा कालोपत्रे सम्पन्न गर्दै अर्को खण्डमा काम अघि बढाइने छ ।
मुक्तिचोक क्षेत्रको ओभरपास तथा सडक व्यवस्थापनपछि बिर्तामोड अझ आकर्षक र व्यवस्थित हुने अपेक्षा राखिएको छ । व्यवसायीलाई पर्खालका कारण व्यापारमा असर नपर्ने आश्वासन पनि दिइएको छ ।

