चाडपर्व नजिकिँदै गर्दा सडक तथा यातायात व्यवस्थापनलाई प्राथमिकता दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सातवटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। शनिबार मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकमा प्रहरी, सचिव, यातायात र सडक विभागका प्रमुख तथा यातायात व्यवसायी महासङ्घका पदाधिकारी सहभागी थिए।

मन्त्री घिसिङले यात्रुहरुलाई सहज र सुरक्षित यात्रा गराउन सडक अवस्थाबारे चौबिसै घण्टा सूचना दिने, गुनासो सुन्ने र विपदका कारण अवरुद्ध सडक तुरुन्त सञ्चालनमा ल्याउने व्यवस्था गर्न निर्देशन दिए। उनले दशैंमा यात्रुहरूले अनावश्यक सास्ती खेप्न नपर्ने गरी सम्पूर्ण तयारी तत्काल थाल्न सम्बन्धित निकायलाई कडाइका साथ आदेशसमेत दिए।

बैठकले गरेको सात निर्णय यसप्रकार छन् :

नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग : दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने सबै सार्वजनिक यातायातलाई सो सुरुङमार्गमार्फत मात्र सञ्चालन गर्ने।


सुरक्षा कडाइ : नयाँ बसपार्कसहित राजमार्गहरूमा प्रहरी गस्ती बढाउने र अतिरिक्त प्रहरी परिचालन गर्न गृह मन्त्रालयसँग समन्वय गर्ने।
ठूला मालवाहकमा प्रतिबन्ध : बुटवल–नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा १२ चक्कादेखि माथिका ठूला सवारी दशैंभर सञ्चालन नगर्ने, तर खाद्यान्न र अत्यावश्यक सामग्री ढुवानी भने निरन्तर हुने।
सडक स्तरोन्नति र विपद व्यवस्थापन : मुख्य राजमार्ग सुधार, पहिरो व्यवस्थापनका लागि आवश्यक उपकरण उपलब्ध गराउने, नारायणघाट–मुग्लिन सडक र तातोपानी नाका सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिने।
सार्वजनिक सूचना जारी : यात्रुहरुलाई मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्ने।
सवारी साधन सुरक्षित बनाउने तयारी : सार्वजनिक यातायातलाई प्रविधिमैत्री र सुरक्षित बनाउन कार्यविधि तथा निर्देशिका छिट्टै मन्त्रालयमा पेस गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने।
कन्ट्रोल रुम सञ्चालन : सडक अवस्थामाथि चौबिसै घण्टा निगरानी राख्ने, आवश्यक समन्वयका लागि फोकल पर्सन तोकेर कन्ट्रोल रुम सञ्चालन गर्ने।
मन्त्री घिसिङले चाडपर्वको यात्रालाई सहज, छिटो र सुरक्षित बनाउन कुनै कमी कमजोरी सहन नहुने चेतावनी पनि दिएका छन्।

