

बिर्तामोड । पछिल्लो समय नेपाली राजनीतिमा ‘फेसबुक राजीनामा र फेसबुक फिर्ता’ गर्ने प्रवृत्ति मौलाउँदै गएको छ। पद–प्रतिष्ठा जोगाउन असफल भएपछि सार्वजनिक रूपमा फेसबुकमार्फत राजीनामा घोषणा गर्ने, तर राजनीतिक समीकरण मिलाउनासाथ फेरि त्यही प्लेटफर्मबाट राजीनामा फिर्ता लिने शैलीले राजनीतिक चरित्रप्रति प्रश्न खडा गरेको छ।

राजनीतिक दलका नेताहरूले फेसबुकलाई विचार आदान–प्रदान गर्ने माध्यम भन्दा पनि व्यक्तिगत स्वार्थ अनुसार ‘प्रेस नोट’ झैं प्रयोग गर्न थालेका छन्। तर, यसरी पटक–पटक भावनात्मक वा अवसरवादी पोस्ट राखेर पछि उल्ट्याइने अभ्यासलाई धेरैले “लाज पचाउने प्रवृत्ति” भन्दै आलोचना गरेका छन्।

विशेषज्ञहरूका अनुसार यस्तो व्यवहारले नेताहरूको निर्णयप्रति जनविश्वास खस्काउने मात्र होइन, संस्थागत राजनीति भन्दा व्यक्तिगत आकांक्षा हाबी भएको देखाउँछ। पार्टीभित्र छलफल र पारदर्शी प्रक्रिया कमजोर हुँदा सामाजिक सञ्जालमार्फत ‘नाटकिय निर्णय’ गर्ने चलन बढेको विश्लेषण समेत गरिएको छ।




