

काठमाडौं – एसीसी एसिया कपको सुपर–४ मा भारत–पाकिस्तानबीच आइतबार फेरि प्रतिस्पर्धा हुँदै छ । यी दुई टिमबीच यसअघि यही प्रतियोगिताको समूह चरणमा प्रतिस्पर्धा भएको थियो । जसमा भारतले पाकिस्तानविरुद्ध सात विकेटको सहज जित निकालेको थियो ।

समूह चरणको खेलमा दुवै टिमका खेलाडीले एक–अर्कासँग हात मिलाउन अस्वीकार गरेपछिको घटना सामाजिक सञ्जालमा अझै सेलाएको छैन । खेलको टस हुँदा पाकिस्तानका कप्तानले भारतका समकक्षीसँग हात मिलाएनन् । सोही कारण जितपछि भारतका खेलाडी पनि हात मिलाउन मैदानमा ओर्लिएनन् । पाकिस्तानका कप्तान सलमान आघाले म्याच रेफ्रीले हात नमिलाउनु भनेपछि आफूले हात नमिलाएको बताएका थिए । म्याच रेफ्रीको गल्ती देखाउँदै पाकिस्तानले प्रतियोगिताबाट उनलाई हटाउन मागसमेत गरेको थियो ।

यो घटनाकै कारण पाकिस्तानले एसिया कप नै नखेल्नेसम्मको स्थिति बनेको थियो । तर, उक्त खेलका म्याच रेफ्री एन्डी पाइक्रोफ्टले माफी मागेपछि पाकिस्तान एसिया कपलाई निरन्तरता दिन राजी भएको थियो ।


दुई देशबीचको राजनीतिक तिक्तताले खेलमा प्रत्यक्ष असर गर्दा भारत–पाकिस्तानको खेल सधैँ बहुप्रतिक्षित बन्ने गरेको छ ।
आजको खेल युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।

