

काठमाडौं – रसियाको काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिष्ट चेस प्रतियोगिताअन्तर्गत र्यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन्। बुद्धिष्ट राष्ट्रहरूबीच भएको प्रतिस्पर्धामा आयोजक क्याल्मिकिया २०.५ अंक सहित पहिलो भयो।


रसियाकै बुयाटिया टिमले १८ अंक जोड्दै दोस्रो स्थान ओगट्दा फिलिपिनी टिम १५.५ अंक तेस्रो, थाइल्यान्डको टिम १५ अंकसहित चौथो, रसियाकै टाइभाको टिम १४.५ अंकसहित पाँचौं र नेपालले १२.५ अंक जोड्दै छैठौं स्थान ओगट्न सफल भएको थियो।


प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट खेल प्रदर्शन गर्दै हंगेरीका शीर्ष वरीयता खेलाडी जिएम स्जुगिरोभ सनानले एकल आठ अंक जोडे भने रसियन ग्रान्ड मास्टर साइडाइपो झम्सारन ७.५ अंक, रसियन जिएम सोगडीझिएफ रोमन ६.५ अंक बनाए। यस्तै फिलिपिन्सका जिएम क्विजोन ड्यानियल, रसियन डब्लूजीएम कोभानोभा बैरे र उत्नासुनोभ एलेक्जेन्डरले समान ६–६ अंकको योगदान दिए। नेपालका सीएम पुरुषोत्तम सिलवालले पाँच अंक जोडेका थिए।
यस्तै सिन्दिरा जोशीले तीन र एमेच्योर शैलेन्द्र न्यौपानेले ४.५ अंकको योगदान दिएका थिए। प्रतियोगितामा नेपालबाट पुरुषोत्तम सिलवाल, सिन्दिरा जोशी, हेराकाजी महर्जन र वैकल्पिक खेलाडी शैलेन्द्र न्यौपाने सहभागी हुने छन्। आयोजकले एमेच्योर खेलाडीका रूपमा राष्ट्रिय संघका अध्यक्षलाई नै सहभागी हुन आमन्त्रण गरेको थियो। त्यही अनुरुप नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले सहभागिता जनाउन लागेका हुन्।

