

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा सोमबार (असोज ६) सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा भक्कानिएका छन् । देशमा सुशासन खोज्दा युवाले ज्यान दिनु परेको भन्दै उनी एक्कासि भक्कानिएका हुन् ।

सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा ‘एकछिन’ भन्दै उनले आफूलाई त्यो दिन ९भदौ २३ र २४०को दृश्य झलझल्ती आउने बताए । “मैले त्यो फोटो र भिडियो देखेको छु, झलझल्ती आउँछ अहिले पनि । सर्वप्रथम म श्रद्धाञ्जली भन्न चाहन्छु,” उनले भने । युवाले गरेको योगदान आउँदो दिनमा खेर नजाने उनको भनाइ छ ।

प्रदर्शनमा ज्यान गुमाएकाका परिवारलाई रोजगारीका निम्ति आफूले सोच्ने मन्त्री सिन्हाले बताए । “छोटो समयमा यही गर्न सकिन्छ भन्ने छ छैन, तर आन्दोलनको क्रममा ज्यान गुमाउने र घाइतेहरूका परिवारलाई रोजगारी चाहिएको छ भने अहिले सञ्चालनमा रहेका उद्योगमा रोजगारी दिलाउन पहल गर्छु,” उनले भने ।


उद्योगधन्दालाई प्रोत्साहन गरे मात्र देश समृद्ध हुने उनले बताए । वैदेशिक रोजगारीमा गएका युवालाई पुनः त्यही पेसामा जान नपर्ने गरी सीप दिलाउने काम गर्ने उनले उल्लेख गरे ।
युवाको सीप विकासमा आफ्नो जोड रहने पनि उनले बताए । कार्यविधिका झन्झटलाई सहज बनाइने उनले प्रतिबद्धता जनाए ।

