Aamsanchar

पेरुमा पनि ‘जेनजी’को प्रदर्शन

Author Image
सोमवार, असोज ६, २०८२

काठमाडौं – पेरुको राजधानी लिका सडकमा आइतबार कालो कपडामा टाउकोदेखि खुट्टासम्म ढाकिएका मुखुण्डोधारी नागरिक र स्टर्म–ग्रे तथा पहेँलो रङको दंगा नियन्त्रण पोसाक लगाएका प्रहरी दुई समूह भिडेका थिए ।

सहरभर प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । प्रदर्शनकारीहरूले अपराध र भ्रष्टाचारको निन्दा गर्दै पेरुका प्रधानमन्त्रीलाई पदबाट हटाउन माग गरिरहेका थिए ।

सन् २०२० पछि पेरुमा भएको यो तेस्रो ठूलो प्रदर्शन हो । सन् २०२० को नोभेम्बरमा राष्ट्रपति मार्टिन विजकारालाई पदच्युत गरेपछि विरोध प्रदर्शनको शंखला सुरु भएको थियो ।

सन् २०२३ मा पनि ठूलो अशान्ति भएको थियो, जसमा हजारौँ प्रदर्शनकारी देशको दक्षिणी भाग, विशेष गरी पुनोजस्ता सहरमा दशकौँदेखिको सीमान्तकरण, असमानता, भ्रष्टाचार र जीवनस्तरमा सुधार नआएको विरोधमा सडकमा उत्रिएका थिए । त्यस वर्षको विरोधमा ६६ जनाको मृत्यु भएको थियो ।

“आज, डर र जबरजस्ती पैसा असुलीका कारण हाम्रो लोकतन्त्र पहिलेभन्दा कमजोर बनेको छ । स्थिति झन् खराब हुँदै गएको छ,” नाम नबताउन चाहने ५४ वर्षीया एक प्रदर्शनकारीले एएफपीसँग भनिन् ।

सन् २०२५ का प्रदर्शनहरू ‘जेनेरेसन जी’ नामक युवा समूहले आयोजना गरेका हुन् । उनीहरूले संगठित अपराध, सार्वजनिक पदमा भ्रष्टाचार र हालैको पेन्सन सुधारविरुद्ध बढ्दो सामाजिक अशान्तिको बीचमा सडक आन्दोलन थालेका हुन् ।

“कंग्रेसको कुनै विश्वसनीयता छैन, यसले जनताको समर्थन पाएको छैन । यसले देशलाई विनाशतर्फ धकेल्दै छ,” प्रदर्शनकारी सेलेन अमासिफेनले एएफपीसँग भनिन् ।

आइतबार, सेप्टेम्बर २२ मा ५०० भन्दा बढी मानिस केन्द्रीय लिमा क्षेत्रमा भारी प्रहरी उपस्थितिमा भेला भए । जब प्रदर्शनकारी कार्यपालिका र कंग्रेस भवननजिक पुगे, झडप सुरु भयो । एक्जिटोसा रेडियोका अनुसार, उसका एक पत्रकार र क्यामेरा म्यानलाई प्रहरीले चलाएको पेलेट लागेको थियो । प्रहरीले आफ्ना तीन अधिकारी घाइते भएको जनाएको छ ।

साप्ताहिक पत्रिका हिल्डेब्रान्ड एन सुस ट्रेसेका फोटो पत्रकार सेसर जामालोवाले प्रहरीले मानिसहरूको शरीरमा सिधै पेलेट चलाएको बताएका छन् । उनले भने, “त्यही बेला मेरो खुट्टा र कम्मरमा पीडा महसुस भयो ।” यो बयान पेरुका पत्रकारहरूको संगठन ९एएनपी० ले आइतबार आफ्नो फेसबुक पेजमा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

अधिकारीहरू र स्वतन्त्र संगठनले आइतबार जारी गरेको तथ्यांकअनुसार, झडपमा प्रहरी अधिकारी र पत्रकारसहित कम्तीमा १८ जना घाइते भएका छन् ।

अर्को वर्ष कार्यकाल समाप्त हुने राष्ट्रपति डिना बोलुआर्टेको अनुमोदन दर बढ्दो पैसा असुली र संगठित अपराधबीच झन् खस्किएको छ । धेरै सर्वेक्षणअनुसार, जनताले सरकार र रूढिवादी–बहुमत भएको कंग्रेसलाई भ्रष्ट ठानिरहेका छन् । आक्रोशलाई थप चर्काउँदै, यसै हप्तामा व्यवस्थापिकाले युवा वयस्कहरूलाई निजी पेन्सन कोषमा अनिवार्य रूपमा सामेल हुने व्यवस्था गरेको छ, जबकि धेरै मानिस अनिश्चित रोजगारीको सामना गरिरहेका छन् ।

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर