Aamsanchar

३० हजार फिट माथि ९४ मिनेट ! अफगानी बालकको चमत्कारी यात्रा

Author Image
मङ्गलवार, असोज ७, २०८२

झापा । आकाशमा उडिरहेको विमानको पांग्रामा लुकेर झन्डै डेढ घण्टा यात्रा गर्ने कल्पना पनि असम्भव जस्तो लाग्छ । तर, भारतमा त्यही असम्भवलाई सम्भव बनाइदिएका छन् १३ वर्षीय एक अफगानी बालकले ।

दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा प्रतिबन्धित क्षेत्रमा फेला परेपछि सुरक्षाकर्मीले सोधपुछ गर्दा उनको रहस्य खुल्यो । उनी कुनै साधारण यात्रु होइनन्, बरु काबुलबाट केएएम एयरको फ्लाइट आरक्यू ४४०१ को पांग्राको खाल्डो (ह्वील वेल) मा लुकेर दिल्ली पुगेका थिए ।

मृत्युसँगको जुधाइ

३० हजार फिट (करिब ९ किलोमिटर) माथि उड्ने क्रममा त्यहाँको तापक्रम माइनस ६० डिग्री सेल्सियससम्म पुग्छ र अक्सिजन लगभग नहुनेजस्तै हुन्छ । सामान्यतया मानिस केही मिनेटमै अचेत हुन्छन् । चिकित्सकहरू भन्छन्— यस्तो अवस्थामा जीवित रहने सम्भावना २० प्रतिशतभन्दा कम हुन्छ । तर, यो बालक त्यस कठिन ९४ मिनेट टिक्न सफल भए ।

उड्डयन विज्ञ क्याप्टेन मोहन रंगनाथनका अनुसार, “ह्वील वेलमा टेक–अफपछि ढोका बन्द हुन्छ, जसले सीमित चाप र तापक्रम कायम राख्छ । तर त्यस्तो अवस्थामा बाँच्न सक्नु चमत्कार नै हो ।”

गलत विमानमा गलत यात्रा

बालकले प्रारम्भमा इरान पुग्ने योजना बनाएका थिए । तर, विमान छान्नै नजानेका कारण उनले गलत जहाज समाते र सिधै दिल्ली आइपुगे । उनले यात्रुको पछिपछि एयरपोर्ट प्रवेश गरेका थिए र रनवेमा पुगेर विमानको पांग्रामा लुकेका थिए ।

कानुनी प्रश्न र सुरक्षाको त्रुटि

बालक नाबालिग भएकाले कानुनी कारबाही नहुने बताइएको छ । तर, यस घटनाले काबुल एयरपोर्टको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । यात्रु र विमान सुरक्षाका दृष्टिले यस्तो कमजोरीलाई खतराको संकेतका रूपमा लिइएको छ ।

यस्ता घटना पहिले पनि

भारतमा यो पहिलो घटना भने होइन । सन् १९९६ मा दुई युवक ब्रिटिस एयरवेजको विमानमा लुकेर लन्डन पुगेका थिए । तीमध्ये एकजनाले यात्रा पूरा गर्न नसकी प्राण गुमाए, अर्का भने बाँच्न सफल भए ।

यसपालि पनि १३ वर्षीय अफगानी बालकले जीवन–मृत्युलाई चुनौती दिँदै नयाँ चमत्कारको कहानी थपेका छन् ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर