Aamsanchar

बालक अपहरणपछि हत्या प्रकरणमा आफन्तसहित ८ जना छिमेकी पक्राउ

Author Image
मङ्गलवार, असोज ७, २०८२

काठमाडौं – सिराहामा बालकको अपहरण पश्चात् हत्या भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरी स्रोतले जनाएको छ ।

बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

अनुसन्धानकै क्रममा रहेकोले प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ ।

सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान बालकको शव फेला परेको हो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो ।

परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।

सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको सूचना अधिकारी यादवले जानकारी दिए ।

Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर