Aamsanchar

जेनजी आन्दोलनमा अराजकता मच्चाउनेको पहिचान गर्दै प्रहरी

Author Image
बुधवार, असोज ८, २०८२

विराटनगर – मोरङ प्रहरी यतिबेला जेनजी आन्दोलनको आवरणमा विराटनगरसहित मोरङका विभिन्न स्थानमा आगजनी, तोडफोड र लुटपाट मच्चाउने समूह एवं व्यक्तिको पहिचानमा जुटेको छ ।

आगजनी, तोडफोडजस्ता अपराधिक गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने हिसाबले प्रहरी अघि बढेको हो । कानुनी दायरामा ल्याउन सरकारी एवं निजी सम्पत्तिमा आगजनी गरेर विध्वंस मच्चाउनेलाई प्रहरीले कडा निगरानी गरिरहेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा सरकारी तथा निजी सम्पत्तिलाई लक्षित गर्दै आतंक फैलाउनेहरू पहिचानको अन्तिम चरणमा पुगेको र छिट्टै कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक ९एसपी० कवित कटवालले बुधबार आयोजित पत्रकार भेटघाट एवं परिचयात्मक कार्यक्रममा जेनजीको आवरणमा अपराधिक आतंक मच्चाउने अब कारबाहीको दायरामा आउने जानकारी दिए । सोमबार मात्र जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर कार्यालयमा हाजिर भएका कटवालले आफ्नो पहिलो सार्वजनिक कार्यक्रममा भने, ´राज्य र नागरिकको सम्पत्तिमाथि आगजनी गर्नेहरुलाई उन्मुक्ति दिन सकिँदैन । प्रमाण संकलन भइसकेको छ । अब ´स्क्रिनिङु गरेर संलग्नलाई कानुनी दायरामा ल्याइन्छ ।`

उनका अनुसार गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा अराजक भिडले विराटनगरसहित मोरङका सरकारी कार्यालय, निजी संरचना र व्यापारिक प्रतिष्ठान एवं मलसमेतमा आगजनी, तोडफोड र लुटपाट गरेको थियो । क्षतिग्रस्त संरचनाको मुचुल्का उठाइसकिएको र घटनाबारे पीडितले प्रहरीमा उजुरी समेत दर्ता गराइरहेको जानकारी एसपी कटवालले दिए ।
प्रहरीले यसअघि नै सर्वसाधारणलाई घटनासम्बन्धी फोटो, भिडियो वा अन्य प्रमाण उपलब्ध गराउन आह्वान गरेको थियो । प्रमाण उपलब्ध गराउनेको पहिचान गोप्य राखिने एसपी कटवालले स्पष्ट पारे । ´धेरै प्रमाणहरु हात परेका छन् । अझै संकलन भइरहेको छ । ती सबैको विश्लेषणपछि संलग्नहरु कारबाहीको दायरामा आउँछन्,`उनले भने ।

एसपी कटवालले जेनजी आन्दोलनलाई आवरण बनाएर आपराधिक गतिविधि गर्ने र अराजक भिडलाई त्यस्तो कार्यमा उक्साउनेहरूमाथि समेत कानुनी कारबाही हुने प्रष्ट पारे । ´यस्ता घटनाले प्रहरीको मनोबल खस्किएको छ । तर, अब कानुनी प्रक्रिया अघि बढाएर प्रहरीको मनोबल उच्च बनाउनेतर्फ ध्यान केन्द्रित गरिएको छ,`उनी भन्छन् ।

प्रहरी स्रोतका अनुसार भाग्न सक्ने सम्भावना रहेकाले विध्वंसमा संलग्न समूहलाई नजिकबाट निगरानी बढाइएको छ । ´जसरी पनि कारबाही हुन्छ । अहिले ´स्क्रिनिङु गरेर प्रमाणित गरिरहेका छौं । विभिन्न घटनासँग सम्बन्धित प्रमाणको विश्लेषण पनि भइरहेको छ,` प्रहरी स्रोतले भन्यो ।

चाडपर्व लक्षित सुरक्षा

बडादशैं सुरु भएसँगै मोरङ प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको छ । अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षासम्बन्धी नियमित कामसँगै चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको एसपी कटवालले बताए । ´चाडपर्वका बेला अपराधिक घटना बढ्न सक्छन् । त्यसकारण शान्ति सुरक्षा चुस्त–दुरुस्त बनाउन प्रहरी संवेदनशील र सक्रिय बनेको छ,` उनले भने ।

चाडपर्वका लागि मोरङमा रहेका सुरक्षाकर्मी मात्र नभइ अतिरिक्त फोर्ससमेत परिचालन गर्ने तयारी रहेको उनले स्पष्ट पारे । कटवालका अनुसार अपराधीलाई निर्मम हिसाबले कारबाही गर्ने, नागरिकलाई सुरक्षित वातावरण दिने र मोरङलाई अपराधमुक्त बनाउनेतर्फ प्रहरी प्रतिबद्ध छ । उनले शंकास्पद गतिविधि देखिएमा वा कुनै आपराधिक घटना हुन लाग्दा तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग आग्रह पनि गरे ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले कुनै पनि घटनाबारे गलत वा अतिरञ्जित सूचना नदिन पत्रकारलाई अनुरोध गरिन् । ´पत्रकारको सूचनाले नै आमनागरिकले धारणा बनाउँछन् । त्यसैले प्रमाणित तथ्यलाई मात्र सार्वजनिक गरिदिनुहोला । हामी सत्य सूचना समयमै दिन तयार छौं,` उनले भनिन् ।

मोरङ प्रहरीले जेनजी आन्दोलनमा संलग्नलाई कानुनी दायरामा ल्याउने तयारी गरेसँगै चाडपर्व लक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाएर नागरिकलाई सुरक्षित र शान्त वातावरण दिने प्रतिबद्धता जनाएको छ ।

Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर