

बिर्तामोड । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा भएको आगजनी तथा तोडफोडका कारण ध्वस्त बनेको भवन र सामग्रीको क्षति करिब ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।
सरकारी स्तरबाट तत्काल परिपूर्ति हुने अवस्था नरहेकाले नागरिक समाजको अगुवाईमा दुवै प्रहरी कार्यालय पुनर्निर्माण र मर्मतको काम सुरु गरिएको छ । हाल सफाइ, रंगरोगन, झ्याल–सिसा, बिजुली, पानी, शौचालय मर्मतसँगै प्रहरी आवासका लागि आवश्यक खाट, ओछ्याउने–ओढ्ने कपडा, भाँडाकुँडा लगायतका सामग्री जुटाउने कार्य भइरहेको छ ।

“प्रहरी कार्यालयलाई छिट्टै सेवा प्रवाह गर्न सक्षम बनाउने हाम्रो प्रयास हो । अबको १० दिनभित्र दुवै कार्यालयबाट पहिलेझैं सेवा सुरु हुने अपेक्षा गरिएको छ,” पुनर्निर्माण अभियानका अभियन्ता विपिन बजगाईले बताए । उनका अनुसार हालसम्म ८ लाख रुपैयाँभन्दा बढी नगद संकलन भइसकेको छ भने १० लाखभन्दा बढी रकम दाताहरुले प्रतिवद्धता जनाइसकेका छन् ।


यसका लागि रमेश चौधरी, विपिन बजगाई र पदम श्रेष्ठको नाममा संयुक्त रुपमा बैंक खाता सञ्चालन गरिएको छ । पुनर्निर्माण स्थलमा दैनिक उपस्थित भएर रेखदेख गर्ने काममा बिर्तामोडका युवाहरु सक्रिय छन् । सजेश शिवाकोटी, रोहित प्रसाई, मिजास पोखरेल, देवेन्द्र केसी, मेघराज बास्तोला लगायतका व्यक्तिहरुले आर्थिक तथा भौतिक सहयोग पुर्याइरहेका छन् ।
आन्दोलनको नाममा प्रहरी कार्यालय तोडफोड हुँदा समाजमा सुरक्षा चुनौती थपिएको छ । काला बजार र अवैध कारोबार गर्नेहरु अझ सक्रिय बनेको श्रोतले जनाएको छ । यही कारण प्रहरी कार्यालयलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने दबाब बढेको छ ।


