

बिर्तामोड । झापा बिर्तामोड–२ चारपानेस्थित एकता स्पोर्टिङ क्लबलाई ३० थान फुटबल हस्तान्तरण गरिएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा सुनसरी इटहरी घर भई हाल बिर्तामोड–२ मा व्यवसाय सञ्चालन गर्दै आएकी मीना पौडेलले करिब ३५ हजार रुपैयाँ बराबरको फुटबल हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेलले युवाको खेलप्रति बढ्दो रुचि र क्लबको सक्रियतालाई सराहना गर्दै यस्ता सहयोगले खेल विकासमा ठूलो टेवा पुग्ने बताए ।
दाता पौडेलले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले फुटबल उपलब्ध गराएको उल्लेख गर्दै भनिन्, “युवा पुस्ता खेलकुदमा सक्रिय भए मात्रै गलत बाटोतर्फ जानबाट रोक्न सकिन्छ । क्लबमार्फत फुटबलको सदुपयोग गरेर स्थानीय युवा प्रतिभा अझै अघि बढ्ने विश्वास लिएको छु।”
एकता स्पोर्टिङ क्लबका अध्यक्ष मोहन कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथि पञ्चरत्न माध्यमिक विद्यालयका अध्यक्ष धर्म लक्सम्वाललगायतले दाताप्रति धन्यवाद व्यक्त गरेका थिए ।
सो अवसरमा क्लबका सचिव माधव खरेलले स्वागत मन्तव्य राखेका थिए भने महासचिव रमेश उप्रेतीले कार्यक्रम सञ्चालन गरेका थिए ।



