विद्यार्थीमैत्री वातावरणका लागि महानगरको कदम — मेयर बालेन शाह



काठमाडौं । पुतलीसडक चोकदेखि भृकुटीमण्डप जाने बाटैमा अवस्थित करिब ८० वर्ष पुरानो पद्मोदय स्कुलमा रहेको सटरहरू हटाइएका छन्। स्थापना कालदेखि विद्यालयको जग्गामा सञ्चालित सटरहरूलाई हटाएर विद्यार्थीका लागि खेलमैदान निर्माणको प्रक्रिया सुरु गरिएको हो।

लामो समयदेखि सामुदायिक विद्यालयका भवन वा हाताभित्र सटर बनाएर भाडामा दिने, पार्टी प्यालेसलाई दिने जस्ता गतिविधिहरू हुँदै आएका थिए। कतिपय विद्यालयले भाडा नै नपाउने, पाउने भाडादर पनि बजार मूल्यभन्दा कम हुने जस्ता विवाद निरन्तर भइरहेका थिए ।


यस्ता कार्यले विद्यार्थीलाई अध्ययन बाहेकका गतिविधिमा डिस्टर्ब गर्ने, सभा वा कार्यक्रम सञ्चालन गर्न समस्या हुने, खेल्ने ठाउँको समेत अभाव हुने गुनासो शिक्षक तथा अभिभावकहरूले गर्दै आएका थिए।
मेयर बालेन शाहको भनाइ
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय विद्यार्थीको अध्ययन–अध्यापनको केन्द्र हो भन्ने स्पष्ट गर्दै भने, “विद्यालयमा सबैभन्दा ठूलो हक विद्यार्थीको हुन्छ। स्कुल व्यापारिक थलो होइन। त्यसैले पद्मोदयमा सटर हटाइएको छ र त्यहाँ विद्यार्थीका लागि खेलमैदान निर्माण गर्न टेन्डर आह्वान भइसकेको छ। विद्यालयले महानगरबाट थप अनुदान पनि पाउनेछ।”
उनले पद्मोदय मात्र नभई अन्य विद्यालयमा पनि त्यस्तै व्यवस्था गर्ने महानगरको तयारी भएको बताए। शाहले थपे, “सरकारी विद्यालयहरूमा गुणस्तरीय पढाइसँगै अतिरिक्त क्रियाकलापको विकल्पमा कुनै सम्झौता हुनेछैन। विद्यालय शिक्षा केवल विद्यार्थीको लागि मात्र होइन, मुलुक, सभ्यता र संस्कृतिको भविष्यसँग प्रत्यक्ष जोडिएको छ।”
सामुदायिक विद्यालयका जग्गा तथा भवनहरूमा विगतमा पसल, पार्टी प्यालेस र अन्य व्यापारिक गतिविधि सञ्चालन हुँदै आएका थिए। यसलाई सुधार गर्ने अभियानको पहिलो उदाहरणको रूपमा पद्मोदयलाई लिइएको र यसबाट अन्य विद्यालयलाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

