

परासी – भारतसँग सीमा जोडिएका नवलपरासीका विभिन्न नाका हुँदै अहिले कुखुराको तस्करी बढेको छ। त्यसरी ल्याइएका बोइलर कुखुरा परासी, सुनवल, बर्दघाटसम्म पुर्याउने गरिएको छ।
यसअघि पिकअप र मोटरसाइकलको ले–गाड तथा साइकलमा झुन्ड्याएर कुखुरा तस्करी हुँदै आएका थियो। पछिल्लो समय प्रहरीले निगरानी बढाएपछि यसरी बोराको झोलामा राखेर तस्करी हुन थालेको बताइएको छ। रातको समयमा मात्र नभई दिउँसै सदरमुकाम परासी हुँदै अवैध ओसारपसार हुने गरेको हो।
एउटा झोलामा ८/१० वटासम्म जिउँदा कुखुरा लाने गरिएको छ। सानो झोलामा त्यसरी धेरै संख्यामा लैजाँदा केही मर्ने गरेका छन्। सोही मरेका कुखुरासमेत मासु पसलमा दिइने गरिएको बताइएको छ।

चाडपर्व बढेसँगै प्रहरीले विभिन्न स्थानमा गस्ती बढाएको बताए पनि प्रमुख र सहायक बाटोभन्दा अन्य बाटो प्रयोग गरेर साइकल र मोटरसाइकलमार्फत कुखुरालगायत किराना र कपडाको अवैध ओसारपसार बढेको बताइएको छ।



