Aamsanchar

सुदन गुरुङले अलजजिरामा लिएको अन्तरवार्ताले राजनीति तरङ्गित बनाउदै  

Author Image
आइतवार, असोज १२, २०८२

जेन-जी आन्दोलनमा आफूलाइ अगुवा सावित गराएका  सुदन गुरुङले आफूहरू अब राजनीतिक यात्रामा अगाडि बढ्ने घोषणा गरेका छन्। अलजजिरासँगको अन्तर्वार्तामा उनले आगामी चुनाव समूहका रूपमा लड्ने र जनताले चाहे प्रधानमन्त्री बन्ने संकेत दिएका छन्। पुराना दललाई चुनावमा रोक्ने र आवश्यक परे जेल पठाउने चेतावनीसमेत उनले दिएका छन्।

चुनावमा सहभागिता र सम्भावित प्रधानमन्त्रीको उम्मेदवारी
गुरुङले आफू स्वतन्त्र उम्मेदवारको रूपमा होइन, समूहका रूपमा चुनाव लड्ने स्पष्ट पारे। उनका अनुसार, यसरी मात्र युवाशक्ति एकजुट हुनेछ। प्रधानमन्त्री बन्ने प्रश्नमा उनले भने, “म अझ क्षमतावान व्यक्तिलाई प्रधानमन्त्री भएको देख्न चाहन्छु। तर, जनताले चाहे भने म पनि उठ्छु।”

पुराना दललाई रोक्ने अठोट
गुरुङले पुराना राजनीतिक दलहरूलाई आगामी चुनावमा भाग लिन नदिने दाबी गरे। उनका अनुसार, जेन जी आन्दोलनमा भएको हिंसा र विगतका भ्रष्टाचारबारे निष्पक्ष अनुसन्धानमार्फत ती दलका प्रमुख नेताहरूलाई जेल पुर्याइनेछ। “यी मान्छेहरू जेल जान्छन्, त्यसैले उनीहरूले चुनावमा भाग लिन सक्ने छैनन्,” गुरुङको भनाइ छ।

चुनाव परिणाम अस्वीकार गर्ने चेतावनी
यदि पुराना दलहरूले चुनाव जिते भने त्यसलाई नमान्ने चेतावनी पनि उनले दिए। उनका अनुसार, ती दलहरूले एजेन्डा, विचारधारा र नेतृत्वमा आमूल परिवर्तन नगरेसम्म स्वीकार्य हुने छैन।

राजनीतिक हिंसाको सम्भावना
गुरुङले आगामी दिनमा थप राजनीतिक हिंसा हुन सक्ने संकेत गरेका छन्। उनले भने, “हामीले हिंसा सुरु गरेका होइनौं, तर जवाफ दिन बाध्य भयौँ। पुराना दलहरू बदला लिन खोज्छन्। त्यसैले हामी सबै एक भएर उनीहरूलाई उठ्न नदिने सुनिश्चित गर्नुपर्छ।”

भारत–चीनसँग सम्बन्ध
परराष्ट्र नीतिबारे प्रश्नमा गुरुङले नेपालले छिमेकी राष्ट्रहरूसँग मित्रवत सम्बन्ध कायम गर्नुपर्ने बताए। “हामी छिमेकी बदल्न सक्दैनौँ। उनीहरूले सम्मान गरे भने हामी पनि सम्मान गर्छौं,” उनले भने। तर, आन्तरिक मामिलामा हस्तक्षेप स्वीकार्य नहुने चेतावनी पनि उनले दिए।

हङकङबाट प्रेरित आन्दोलन संयोजन
गुरुङले जेन जी आन्दोलनलाई डिस्कर्डमार्फत संयोजन गरिएको खुलासा गरे। उनका अनुसार, हङकङको विरोध आन्दोलनबाट प्रेरणा लिएर एकैपटक ठूलो संख्यामा युवासँग सञ्चार गर्न डिस्कर्ड उपयोग गरिएको हो।

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर