

सुनसरी – दशैं–तिहारको अवसरमा खोटाङका युवाहरूले छोरीचेलीलाई माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरेका छन्। “दशैं–तिहार चेलीलाई उपहार अभियान” नाम दिइएको यो कार्यक्रम विजया दशमीको दिनदेखि सुरु भई तिहारसम्म सञ्चालन हुने संयोजक सञ्जयकुमार राईले जानकारी दिए।लगिि

संयोजक राईका अनुसार निःशुल्क सेवा दशैंको टीकादेखि असोज १९ गतेसम्म र तिहारमा कार्तिक ५ देखि ७ गतेसम्म उपलब्ध हुनेछ। अभियानको पहिलो दिनमै २५ वटा मोटरसाइकल र दुईवटा चारपाङ्ग्रे सवारी साधनमार्फत एकसय भन्दा बढी छोरीचेलीहरुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याइएको छ। शुक्रबार पनि बिहानैदेखि युवाहरूले छोरीचेलीहरुलाई माईत मामल आवतजावत गराइरहेका छन् ।

“हाम्रो उद्देश्य रमाइलो होइन, पर्वलाई अर्थपूर्ण बनाउन योगदान दिने हो,” संयोजक राई भन्छन्। उनले यात्राका क्रममा महिलाले बढीमा पाँच किलोसम्म मात्रै कोसेली बोक्न पाउने प्रावधान राखिएको पनि बताए।

गतवर्ष करिब ५०० भन्दा बढी महिलाले यस सेवाबाट लाभ उठाएको र यस वर्ष पनि सोभन्दा बढी लाभान्वित हुने अनुमान गरिएको छ। यस्तै, दिक्तेल रुपाकोट नगरपालिका–१२ का अध्यक्ष दानबहादुर राईले युवाहरुको अभियान सामाजिक कार्यको नमुना भएको उल्लेख गर्दै आफूले पनि पूर्ण साथ दिएको बताए। लगिि
दिक्तेल–१ का वडाअध्यक्ष नवराज राईले यस किसिमको पहलले पर्वलाई मात्र होइन, सम्पूर्ण समाजलाई न्यानोपन दिएको बताए। समुदायको साथ सहयोग पाउँदै गएको अभियानले यस वर्ष अझ बढी छोरीचेलीलाई सहज र सुरक्षित आवतजावत उपलब्ध गराउने अपेक्षा गरिएको छ।

