Aamsanchar

सतर्क रहन मोरङ–सुनसरीका बासिन्दालाई प्रशासनको आग्रह

Author Image
शुक्रवार, असोज १७, २०८२

सुनसरी – जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेपछि सुनसरी र मोरङ दुवै जिल्लाका प्रशासनले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।

 

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा छुट्टाछुट्टै बसेको आपतकालीन बैठकले बाढी, डुबान तथा प्राकृतिक विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेका हुन्।

 

बैठकले रात्रीकालीन लामो दूरीका बस सेवा नियन्त्रण गर्ने, जोखिमयुक्त क्षेत्रमा स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने, स्वास्थ्य संस्थाहरूलाई सजग गराउने तथा उद्धारका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सतर्क राख्ने निर्णय गरेका सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिएका छन्।

प्रशासनले विशेषगरी सप्तकोसी नदी, कानेपोखरी–रतुवामाई क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राति अनावश्यक यात्रा नगर्न, असुरक्षित स्थानमा बसोबास नगर्न र पालिका तहदेखि वडा तहसम्म सक्रिय भई जनतालाई समयमै सूचना प्रवाह गर्न निर्देशन दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी यादवले बताए।

सुनसरी र मोरङ दुवै जिल्लामा विपद् व्यवस्थापन समितिहरू पूर्ण तयारी अवस्थामा रहेको र सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सुरक्षाकर्मी, स्थानीय तह तथा अन्य निकायलाई तत्काल सक्रिय हुन अनुरोध गरेको छ।

Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर