Aamsanchar

दशैँ बिदामा घर गएका ट्राफिक प्रहरीको गाडीको ठक्करबाट ज्यान गयो

Author Image
शनिवार, असोज १८, २०८२

रौतहट – दशैँ बिदामा घर गएका ट्राफिक प्रहरी शंकर बलायरको गाडीको ठक्करबाट मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका–८ तिलताली घर भएका ३५ वर्षीय बलायर हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए।

बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारामा दरबन्दी भई रौतहटमा सेवा दिइरहेका थिए। दशैँ मनाउन केही दिनअघि उनी गृह जिल्ला डोटी पुगेका थिए।

स्थानीय प्रहरीले दिएको जानकारी अनुसार बलायर शुक्रबार साँझ पैदल यात्राका क्रममा सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै अस्पताल लैजाने प्रयास गरिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले बताएका छन्।

घटनापछि ठक्कर दिने सवारीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

स्थानीय बासिन्दा र सहकर्मीहरूले बलायरलाई अनुशासित र कर्तव्यनिष्ठ प्रहरीका रूपमा स्मरण गर्दै उनको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर