Aamsanchar

कोशी सरकारले इलाम, मोरङ र झापामा पठायो राहत

Author Image
मङ्गलवार, असोज २१, २०८२

विराटनगर- अविरल वर्षापछिको बाढीपहिरोले व्यापक मानवीय एवं भौतिक क्षति गरेको इलाम, मोरङ र झापामा कोशी प्रदेश सरकारले राहत सामग्री पठाएको छ।

बाढी एवं पहिरोबाट प्रभावित बनेका परिवारका लागि प्रदेश सरकारले मंगलबारबाट राहत सामग्री पठाउन थालेको हो। सडक खुला रहेका स्थानमा ट्रकमार्फत र पहिरोका कारण सडक अवरुद्ध भएर स्थलमार्गबाट सम्भव नभएको स्थानमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत पुर्‍याइएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार राहत सामग्रीमा चामल, दाल, तेल, नुन, आलु, बेसार, कपडा, ब्ल्यांकेट, त्रिपाल, औषधि तथा अन्य दैनिक उपभोग्य वस्तुहरू समावेश छन्। इलामको माङ्सेबुङ, देउमाई, सूर्योदय, माईजोगमाई र फाकफोकथुमसमेतका स्थानमा मंगलबार सेनाको सहयोगमा हेलिकोप्टरमार्फत राहत पठाइएको हो। यी स्थानका सडक पहिरोले अवरुद्ध भएका कारण स्थलमार्गबाट राहत सामग्री पठाउन सम्भव नभएको जानकारी मन्त्रालयले दिएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार इलाम पुगेर बाढीपहिरो प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन गरेका छन्। उनले स्थानीय जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायका प्रतिनिधिहरूसँग खोज, उद्धार, राहत र पुनःस्थापनाको समन्वयका बारेमा छलफल गरेका छन्। मुख्यमन्त्री कार्कीले प्रदेश सरकार आफ्ना सीमित स्रोतसाधनभित्र रहेर पीडितलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्।

इलाममा हालसम्म पहिरोका कारण ३८ जनाको मृत्यु भइसकेको छ। कोशी प्रदेशमा मात्रै ४५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढी र पहिरोका कारण दर्जनौं घरपरिवार विस्थापित भएका छन्। मोरङ र झापाका विभिन्न स्थानमा डुबान र कटानले जनजीवन अस्तव्यस्त बनेको छ। पीडितका लागि प्रदेश सरकारले त्रिपाल, खाद्यान्न र अस्थायी आवासको व्यवस्था गरिने मुख्यमन्त्री कार्कीले बताए।

उनका अनुसार प्रदेश सरकारले उद्धार, राहत र पुनर्निर्माणको कामलाई एकसाथ अघि बढाउने नीति लिएको छ। इलाममा जिल्ला विपद् व्यवस्थापन समितिसँग छलफल गर्दै उनले तत्कालका लागि सडक सुचारु, राहत वितरण र पुनःस्थापनामा सबै निकायले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

यता विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरू र प्रदेशका सचिवहरू सहितको बैठक पनि कार्कीले बोलाएका छन्। बैठकमा विपद् प्रभावित जिल्लाहरुको पछिल्लो अवस्थाका बारेमा छलफल गरेर उद्धार, राहत र पुनःस्थापनामा प्रदेश सरकार पूर्ण रूपमा सक्रिय हुने निष्कर्ष निकालिएको थियो।

मुख्यमन्त्री कार्कीले भने, ‘यो प्राकृतिक विपद् प्रदेशकै साझा पीडा हो। प्रदेश सरकार जनताको सुरक्षाका लागि सबै उपलब्ध स्रोतसाधन प्रयोग गरेर उद्धार, राहत र पुनःस्थापनामा जुट्नेछ।’ वर्षासँगै आएको बाढीपहिरोले इलाम, मोरङ र झापाका धेरै स्थानमा सडक, पुल, विद्युत र खानेपानी व्यवस्थालाई प्रभावित पारेको छ। प्रदेश सरकारले प्रभावित क्षेत्रका आधारभूत पूर्वाधार पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणका योजना अघि बढाउने तयारी गरेको छ।

Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर