

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको नभएको आरोप लगाएका छन्।

नेकपा (एमाले)भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो तर्क गरेका हुन्। वर्तमान सरकार कसैले नछानेको हुनाले यसले नेपालीको हुन नसक्ने ओलीको तर्क थियो।

उनले सरकारले आफूलाई काठमाडौँ भ्याली छोड्न नपाउने भनेर तमासा देखाएको भन्दै आपत्ति जनाए। अध्यक्ष ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई सम्हालिएर अघि बढ्न पनि सचेत गराए।

ओलीले भने,‘यो सरकार नेपालीको होइन, अन्त कतैको भए थाहा छैन। कसैले छानेको सरकार होइन यो। मेरो पासपोर्ट रोक्का गर्ने रु अर्को तमासा के गर्नु भयो भने यो डाँडो काटेर बाहिर जान नपाउने। यो तमासा नभए के हो यो ? सुशीला कार्कीको डरले केपी ओली भाग्छ? के सोच्या छ? अहिलेका गृहमन्त्रीको त मैले नाम पनि सुनेको थिइन। गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु।’
अध्यक्ष ओलीले सरकार संवैधानिक बाटोबाट नबनेको समेत दोहोर्याए।

