

संसारभर रहेका झापालीहरु बिचमा आपसी सद्भाव कायम राख्दै आफू जन्मेको, पढेको, बढेको र हुर्केको ठाउँको विकास र समृद्धिका लागि केही गर्ने मूल उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय झापाली समाज अहिले विदेशमा रहेका सम्पूर्ण झापालीहरूको एउटा साझा संस्थाको रुपमा विकसित हुँदै गएको छ । सन् २०१७ मा यसको स्थापना गर्दाताकाका उद्देश्यहरुलाई आजको दिनसम्ममा आइपुग्दा समाजले लक्ष्य अनुरूपको अग्रगति लिएको मान्न सकिन्छ ।

यस समाजको छविलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कायम राखेर विभिन्न देशहरुका राष्ट्रिय समितिसँगको समन्वय, सहकार्यलाई जोड दिने र समिति नभएका देशहरूमा साथीहरूलाई जोड्दै राष्ट्रिय समिति बनाउँदै जाने समाजको सांगठनिक उद्देश्य थियो। हाल त्यो उद्देश्यअनुरुपका कामहरुले द्रुत रूपमा गति लिंदै गएको छ। यो हाम्रा लागि अति नै खुशीको कुरा हो ।

सर्वप्रथम म यो संस्थाको परिकल्पना गर्दा र संस्थागत अवधारणा अगाडि सार्दा पहिलो दिन हामीसँगै अनलाइन बैठकमा विभिन्न राष्ट्रहरूबाट जोडिएर तदर्थ समिति निर्माणमा जोडिनुभएका समकालिन सबै व्यक्तित्वहरुलाई सम्झन चाहन्छु । त्यस्तै तदर्थ समितिका संयोजक भवानी ओली, महासचिव रूपराज मैनाली लगायत तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरू र पहिलो महाधिवेशनमा सहभागी साथीहरुलाई प्रथम महाअधिवेशन सम्पन्न गर्न उहाँहरूले खेल्नुभएको भूमिकाप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु । तदर्थ समिति निर्माणको केही महिनापछि बिर्तामोडमा सम्पन्न भएको पहिलो महाअधिवेशनबाट हामी सबै मिलेर तत्कालिन तदर्थ समिति संयोजकलाई नै अध्यक्ष बनाउन लाग्दा उहाँ तयार नभएपछि सहभागी सम्पूर्ण साथीहरूको सहमतिमा सर्वसम्मत रूपमा प्रथम महाधिवेशनबाट सन् २०१७ अक्टोवरमा मलाई यस संस्थाको अध्यक्ष चुन्दै सर्वसम्मत रूपमा अन्तर्राष्ट्रिय कार्य समिति निर्माण भयो ।
त्यतिबेला हामीमाझ अनेकौ चुनौतीहरु थिए। संस्थालाई जिल्लामा विधिवत रूपमा दर्ता गर्नेदेखि विश्वभरि छरिएर रहेका झापाली साथीहरूले एक अर्कालाई राम्ररी बुझ्दै संस्थाको दरिलो जग बसाउनु थियो। समाज गठनको मूल उद्देश्यअनुरुप संस्थालाई नियमित गर्दै त्यसअघि नै गठन भएको कतिपय देशहरुका समितिलाई मूल प्रवाहमा जोड्दै नयाँ राष्ट्रिय समितिहरू गठन गर्दै जानुपर्ने जस्ता धेरै कामहरु थिए ।
कतिपय देशमा रहेका कुशल नेतृत्व भएका साथीहरुलाई आकर्षित गरेर संस्थालाई देश विदेशमा चिनाएर यसका सोचहरुलाई प्रचार प्रसार गर्दै जानुपर्ने र त्यसअघिदेखि नै विश्वभर कार्यरत गैर आवासीय नेपाली संघजस्ता अन्य साझा संस्थाहरुसँग समन्वय र सहकार्य गर्नुपर्ने पनि थियो। उनीहरुसँग प्रतिस्पर्धा होइन, सहकार्यको भावनालाई अगाडि बढाउनु पर्ने मुख्य कार्यभार थियो। साथै, कालान्तरमा समाजलाई एउटा भरपर्दो, दिगो र विश्वसनीय संस्था बनाएर सामाजिक कार्यहरु सँगै लगानीका क्षेत्रहरुको पहिचान पनि गर्नको निम्ति संस्थाले सबैको मन जित्दै दरिलो जग बसाउनु थियो । मूलतः नेपालमा शिक्षा, स्वास्थ्य, खेलकुद र लगानी जस्ता विषयलाई प्राथमिकता दिएर सबैलाई सो संस्थाको छातामा गोलबद्ध गर्नुपर्ने थियो। मलाई लाग्छ, यसमा हामी धेरै हदसम्म सफल भयौ नै।
यही अवधारणाअनुरूप कतारमा भएको प्रथम क्षेत्रीय सम्मेलनमा गैरआवासीय नेपाली संघ (NRNA) का तत्कालिन अन्तर्राष्ट्रिय अध्यक्ष भवन भट्ट आफै उपस्थित भएर NRNA जस्ता अन्य साझा संस्थाहरुसँग अन्तर्राष्ट्रिय झापाली समाजको समन्वय र सहकार्यको थालनी गरियो। जुन अत्यन्त जरूरी पनि थियो ।
त्यसैगरी, झापाका सबै राजनीतिक दलहरूको पनि विश्वास जिदै यस संस्थालाई विशुद्ध गैरराजनीतिक संस्थाको रुपमा उभ्याएर आफ्नो मातृभूमिको सेवामा तल्लीन बनाउन र यो संस्थाप्रति सदैव सद्भाव राख्ने वातावरण बनाउनुपर्ने महत्वपूर्ण सवाल पनि थियो। त्यसमा पनि हामी सफल भएका छौं भन्ने लाग्छ ।
यही कुरालाई साबित गराउन हामीले कोरिया सम्मेलनमा झापाबाट राष्ट्रियस्तरमा पहिचान बनाउनु भएका तत्कालीन युवा नेताहरु हिक्मत कार्की, विश्वप्रकाश शर्मा र राजेन्द्र लिङ्देनलाई विशुद्ध रूपमा विश्वभरिका हामी सबै झापालीहरूलाई माया गर्ने हामी सबै झापालीहरूका साझा नेताहरूका हैसियतमा विशिष्ट अतिथिको रूपमा सहभागी गराएका थियौं। त्यस भेलापछि हामीलाई संस्थालाई बलियो बनाउन झापाका राजनीतिक दलहरूबाट पनि अझ बलियो आधार मिलेको ठानेको छु।
त्यति मात्र नभएर झापामा भएका सबै पालिकाहरूसँग पनि विशेष सम्बन्ध स्थापित गरेर संस्थाअघि बढाउन सफल भएका छौं। त्यसका लागि सबैको मन जित्न जरुरी थियो । अनि सबै देशमा रहेका साथीहरुलाई समाजको अवधारणामा सहमत गराउँदै आफ्नो देशको सेवामा केन्द्रित गर्दै जानुपर्ने थियो ।
अहिलेको नेतृत्वसम्म आइपुग्दा संस्थालाई स्थापनाकालदेखि बुझेका साथीहरुले मूल नेतृत्व लिँदै बाँकी कार्यभार बोकेर अन्तर्राष्ट्रिय झापाली एउटा अविच्छिन्न उत्तराधिकारीवाला संस्थाको रुपमा अगाडि बढिरहेको छ । त्यतिबेलै हामीले परिकल्पना गरेको समाज र यसका उद्देश्य अनि लक्ष्यको मार्गमा यो हिंडिरहेको छ। खासमा सकारात्मक सोचका साथ केही गर्न खोजियो भने अवश्य नै सफलता प्राप्त हुने रहेछ। संसारमै यसको एउटा उदाहरण दिनुपर्दा के संस्थालाई दिन सकिन्छ किनभने विदेशमा बसेर पनि आफ्नो देशको सेवामा लाग्न सकिन्छ भन्ने मान्यतालाई हामीले स्थापित गरेर देखाएका छौं ।
त्यसपछि सम्पन्न भएका सम्मेलनहरुले दिएको सन्देश एक प्रकारले भावनात्मक थियो, जसको माध्यमबाट सबै झापालीहरुलाई अझै समाजमा जोड्दै लगेको छ । आफ्नो देशमा शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रमा गरिएका साथ सहयोग र कतिपय महत्वका व्यावसायिक क्षेत्रहरुमा लगानी गर्ने कार्यको पनि सुरूवात भएको छ । त्यसमा हामी निरन्तर अगाडि बढिरहेको अवस्था छ। खासगरेर आजसम्म हामीले झापालगायतका जिल्लाहरुमा सञ्चालन गरेका सामाजिक क्रियाकलापहरू, बाढीपीडितलाई घर निर्माण, एम्बुलेन्स सहयोग र कोभिडजस्तो महामारीको समयमा पनि एकका लागि एक अभियानसँग सहकार्य गर्दै पिसिआर ल्याबदेखि अक्सिजन बैंक स्थापनासम्म भएका कामले यो संस्थाको उचाईलाई अझ बढाउन मद्दत पुगेको छ।
त्यसयता प्रारम्भ गरिएका व्यावसायिक क्षेत्रहरुको लगानी र त्यसको विविधिकरणमा समेत सबैको आकर्षण बढेको छ। हामीले केही क्षेत्रमा लगानी पनि गरेका छौं भने त्यसलाई बढी प्रतिफलमुखी कसरी बनाउने र अझ बढी क्षेत्रमा कसरी जोडिने भन्ने सवाल उठिरहेको छ।
लेखक पोखरेल अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष हुन् ।

