

काठमाडौँ । सरकारको नयाँ ‘स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन कार्यविधि–२०८२’ लागू हुने भएको छ। यस अन्तर्गत साना उद्यमी र नयाँ व्यवसाय सुरु गर्न चाहने युवाले अब बिना धितो ३ प्रतिशत ब्याजदरमा ५ देखि २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको यो कार्यविधि छिट्टै लागू हुने तयारीमा छ। तर, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले भने अघिल्लो वर्षजस्तै २५ लाख रुपैयाँसम्मको सीमा कायम गर्न माग गर्दै मन्त्रालयमा लबिङ गरिरहेको छ।

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताका अनुसार आवेदन प्रणाली तयार भइसकेको छ र अर्को हप्तादेखि आवेदन खुल्ने सम्भावना छ। अघिल्ला वर्षहरूमा भदौ महिनामै आवेदन खुल्ने गरे पनि, यस वर्ष केही ढिलाइ भएको उनले बताए।


कुन–कुन क्षेत्रका उद्यमीलाई कर्जा?
कार्यविधिअनुसार पाँच समूहका उद्यमलाई स्टार्टअप कर्जा दिइनेछः
कृषि र उत्पादन – कृषि, पशुपन्छी, सिँचाइ, जडीबुटी, खानी, खाद्य प्रविधि आदि।
सूचना प्रविधि र डिजिटल सेवा – आईटी, सञ्चार, फोहोर व्यवस्थापन, घरायसी सेवा सुधार।
पूर्वाधार र यातायात – विद्युतीय सवारी, लजिस्टिक, निर्माण कार्य आदि।
सामाजिक सेवा र पर्यटन – शिक्षा, स्वास्थ्य, पर्यटन तथा अतिथि सत्कार।
परम्परागत र स्थानीय स्रोतमा आधारित उद्यम – स्थानीय प्रविधि र पेसाको पुनर्जागरणमा केन्द्रित व्यवसाय।
कसले पाउँछन्?
१० वर्षभन्दा पुरानो नभएको दर्ता भएको उद्योग वा संस्था हुनुपर्छ।
वार्षिक कारोबार १५ करोडभन्दा बढी नभएको हुनुपर्छ।
एउटै परिवारका दुई सदस्यले अलग–अलग आवेदन दिन पाउने छैनन्।
पहिल्यै अन्य सहुलियतपूर्ण कर्जा लिएका उद्यमीले यो कर्जा पाउने छैनन्।
कर्जा लिने र फिर्ता गर्ने प्रक्रिया
चयन भएका प्रस्तावले व्यवसायिक योजना प्रस्तुत गर्नुपर्नेछ।
बैंकले परियोजना मूल्यांकन (क्रेडिट अप्राइजल) गरी योग्य ठहरिएका उद्यमीलाई कर्जा दिनेछ।
५ लाखसम्मको कर्जा एक किस्तामा, १५ लाखसम्म दुई किस्तामा, र २०–२५ लाखसम्म तीन किस्तामा उपलब्ध हुनेछ।
कर्जाको अवधि अधिकतम ५ वर्ष रहनेछ, र पहिलो किस्ता लिएपछि एक वर्षभित्र सावाँ–ब्याज तिर्न सुरु गर्नुपर्नेछ।
बजेट र तथ्यांक
चालु आर्थिक वर्षका लागि सरकारले ७३ करोड रुपैयाँ स्टार्टअप कर्जा कार्यक्रमका लागि छुट्याएको छ। अघिल्लो वर्ष एक अर्ब रुपैयाँ विनियोजन गरिएकोमा ८८ करोड ६६ लाख रुपैयाँ मात्र कर्जा प्रवाह भएको थियो।
गत वर्ष करिब ५ हजारभन्दा बढी आवेदन परेकोमा ६ सयजना उद्यमीले कर्जा पाएका थिए।

