Aamsanchar

भन्सार छलीका कपडा तथा पटका बरामद

Author Image
आइतवार, असोज २६, २०८२

सुनसरी – चाडपर्वको अवसरमा नेपाल-भारत खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले भारतबाट विभिन्न अवैध सामग्री नेपाल भित्र्याउने क्रम बढिरहेको छ। यसै क्रममा सुनसरी प्रहरीले ठूलो मात्रामा भन्सार छलीका कपडा तथा विस्फोटक पदार्थ बरामद गरेको छ।

तस्करीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अवैध सामाग्री बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले बताए। सुनसरी जिल्लाको विभिन्न स्थानहरूमा शनिबार राती प्रहरीको चेकजाँचका क्रममा भारतबाट भन्सार छलि गरी नेपाल भित्र्याएको करिब १० लाख मूल्य बराबरको कपडा तथा खाद्यान्न सामग्री बरामद गरिएको हो।

 

गढी गाउँपालिका–२ स्थितबाट चेकजाँचका क्रममा को १ ह ८१७० नम्बरको टेम्पोमा लुकाई छिपाई ल्याइँदै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ५ सय पिस कुर्था सुरुवाल बरामद गरिएको छ। यस्तै देवानगंज गाउँपालिका–४ स्थितबाट करिब ४ लाख ५० हजार मूल्य बराबरको ९ सय पिस कुर्था सुरुवाल बरामद गरिएको एसपी थेबेले बताएका छन्।

त्यसैगरी कोशी गाउँपालिका–७ बाट करिब ६३ हजार २ सय ८० रुपैयाँ मूल्य बराबरको खाद्यान्न सामग्री समेत प्रहरीले नियन्त्रणमा लिएको छ। यी सबै सामग्रीहरू खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट भन्सार छलि गरी अवैध रूपमा नेपाल भित्र्याइएको प्रहरीले जनाएको छ।

यसैबीच सुनसरी जिल्लामा प्रहरीले पटका जन्य विस्फोटक पदार्थसमेत बरामद गरेको छ। शनिबार नै देवानगंज गाउँपालिका–४ बाट करिब ७३ हजार १ सय २० रुपैयाँ मूल्य बराबरको पटका जन्य विस्फोटक पदार्थसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए। उनले तस्करीमा बरामद सामग्री र सवारीसाधनहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको बताए।

नेपाल–भारत खुल्ला सिमानाबाट दैनिक तस्करी हुने गरेको छ। एसपी थेबेले चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा पारेको र चाडपर्वको मौका छोपी हुने तस्करी तथा विस्फोटक पदार्थको अवैध कारोबारलाई नियन्त्रण गर्न प्रहरीले उच्च सतर्कता अपनाएको बताए।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर