

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका-४ स्थित सर्दु खोलामा अवैध रूपमा जेसिबी र ट्याक्टर प्रयोग गरी नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवा तस्करी गर्ने ९ जना पक्राउ परेका छन्। साथै ७ वटा ट्याक्टर र २ वटा जेसिबी इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो सर्दु खोलामा अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणका लागि प्रहरी टोली परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिवस कुँवरको कमान्डमा १३ जनाको टोली घटनास्थलमा पुगेर उत्खननमा संलग्न ढुवानीका सामाग्री ट्याक्टर र जेसिबी नियन्त्रणमा लिएको हो।


नियन्त्रणमा लिइएका ट्याक्क १ त ६३२२ नम्बर, प्र १-०४-०१ त ४६ नम्बर, को २ त ७९३९ नम्बर, प्र १-०२-००३ त ३३७२ नम्बर, प्र १-०२-००३ त २७६८ नम्बर, को ३ त ३६ नम्बरका ट्याक्टरहरू र को १ क ३२२९ नम्बर तथा प्र १००२–००१ क ३९३७ नम्बरका जेसिबी रहेका छन्। प्रहरीले ९ वटै ढुवानीका साधनका चालकलाई पनि पक्राउ गरेको बताएको छ।
प्रहरी निरीक्षक कुँवरका अनुसार चाडपर्वको मौका छोपी केही व्यक्तिहरूले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी तस्करी गरिरहेका थिए । उनले भने, ‘दशैं तिहारको अवसर पारेर केही समूहले रातारात खोलाको बालुवा, गिट्टी र ढुंगामाटो तस्करी गर्ने गतिविधि बढाएका छन्। सोहीबारे विशेष सूचना पाएपछि प्रहरी टोली खटाई नियन्त्रणमा लिइएका हौं।’
प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टर र जेसिबी सधैंजसो बालुवा ढुवानीमा संलग्न हुने गरेको स्थानीयको भनाइ छ। खोलाको तटबन्ध कमजोर बनाउँदै बगर भत्काउँदै उत्खनन गरिएको हुँदा त्यसले वातावरणीय जोखिम समेत निम्त्याएको उनीहरूको गुनासो छ। स्थानीयवासी रमेश राईले भने, ‘हामीले बारम्बार प्रहरी र नगरपालिकालाई सूचना दिएका थियौं, तर तस्करहरू खुलेआम खोला उत्खनन गर्दै आएका थिए। अहिले प्रहरीले नियन्त्रणमा लिएको कदमले खोला तस्करी नियन्त्रण हुने आशा पलाएको छ।’
सुनसरीका विभिन्न खोलामा यस्तै किसिमका अवैध उत्खननका घटनाहरू बढ्दै गइरहेका छन्। बालुवा, गिट्टीजस्ता नदीजन्य पदार्थको तस्करी रोक्न स्थानीय तह र प्रहरीबीच सहकार्य आवश्यक रहेको स्थानीय रमेश खड्काले बताएका छन्।
प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टर र जेसिबी सवारीसाधनहरू हाल इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए। ‘नदी र वातावरण संरक्षण हाम्रो सामूहिक जिम्मेवारी हो,’ खतिवडाले भने, ‘अवैध उत्खनन रोक्नका लागि प्रहरी निरन्तर निगरानीमा रहनेछ।’
स्थानीय बासिन्दाले पनि खोलाको स्रोत नष्ट पार्ने र सरकारी राजस्व हिनामिना गर्ने गरी हुने तस्करी गतिविधिमाथि कडा निगरानी गर्न माग गरेका छन्।

