

झापा – राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरेका छन्।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशमा राजाको आवश्यकता अपरिहार्य रहेको बताए। ´राजा भनेको सबैलाई जोडेर राख्ने हो,´ उनले भने, धर्म भनेको देशको संविधान जस्तै हो। हामीलाई यस्तो संविधान चाहिँदैन।`उनले वर्तमान संविधानले देशलाई केही नदिएको आरोप लगाउँदै अब नागरिकहरू पूर्वराजा ज्ञानेन्द्र शाह निवास निर्मल निवास पुग्ने दिन आउँदै गरेको दाबी गरे।

प्रसाईंले हालैको राजनीतिक घटनाक्रम र सरकार गठनप्रति तीव्र आक्रोश व्यक्त गरे। उनले सुशीला कार्की नेतृत्वको सरकारलाई लक्षित गर्दै भने, ´यो सरकार टिक्दै टिक्दैन, यो डलरमा आएको हो,` उनले आफ्नो आन्दोलनलाई कसैले रोक्न नसक्ने समेत दाबी गरे।

उनले आफ्नो अभियान हिन्दु राष्ट्र स्थापनाका लागि भएको र त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए। ´यो देशमा हिन्दु राष्ट्र, गर्दन जाओस्, कायम गराएर छाड्छु,` प्रसाईले भने। उनले आफू प्रधानमन्त्री भएको भए २४ घण्टाभित्र ४०० जना भ्रष्टाचारीलाई कारबाही गरिसक्ने भन्दै कडा अभिव्यक्ति दिए।
पत्रकारको प्रश्नमा उनले पशुपतिनाथबाट एउटा महत्त्वपूर्ण घोषणा गर्न लागेको जानकारी दिए। ´आज एउटा घोषणा गर्दैछौं,` उनले भने, ´सडकको सरकार घोषणा हुँदैछ। विस्तृत जानकारीका लागि पशुपतिमा आउनुहोस्।´ यति भन्दै उनी पशुपतिनाथ मन्दिरतर्फ लागेका थिए।

