

धरान – सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १३ ले वडावासीलाई निःशुल्क एम्बुलेन्स सेवा र रगत उपलब्ध गराउने भएको छ। वडा कार्यालयले सेवा सुविधाका लागि रेडक्रस सुनसरी सँग सम्झौता गरेको हो।


धरान–१३ का बिरामीहरू उपचारका लागि घरबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जान र डिस्चार्ज भएर घर फर्कँदा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने वडाअध्य्क्ष नेत्र काफ्लेले बताए। यस्तै बिरामीलाई उपचार गर्दा आवश्यक पर्ने रगत पनि निःशुल्क उपलब्ध गराइने उनले बताए।

यो सेवा लिन सेवाग्राहीले वडामा बसोबास गरेको प्रमाण देखाउनुपर्नेछ। प्रमाणका लागि नागरिक परिचयपत्र वा वडा कार्यालयमा फोन गरेर जानकारी गराउनुपर्ने अध्यक्ष काफ्लेले बताए।
यसका लागि धरान–१३ वडा कार्यालयले नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा र रक्त सञ्चार सेवा केन्द्र धरानसँग एक सम्झौतापत्रमा हस्ताक्षर गरी सेवा सुरु गरिएको वडाध्यक्ष काफ्लेले जानकारी दिए।
यसअघि धरानको ३ र ९ नम्बर वडाले पनि यो सुविधाको सुरु गरेका छन्।

