

बिर्तामोड । कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार अर्थात् काग पूजा मनाइँदैछ । नेपाली हिन्दू परम्परा अनुसार पाँच दिनसम्म मनाइने तिहारको पहिलो दिन काग तिहारका रूपमा मनाउने चलन छ ।

कागलाई सन्देश प्रवाही जीवका रूपमा लिने प्रचलन नेपाली समाजमा पुरानै छ । “काग करायो भने पाहुना आउँछ” भन्ने जनविश्वास अहिले पनि प्रचलित छ । धार्मिक मान्यताअनुसार नरकलोकका अधिपति यमराजका दूतका रूपमा कागलाई चिनिन्छ । पृथ्वी लोकका जीवहरूको जन्म र मृत्युको समाचार यमलोकमा पुर्याउने काम कागले गर्ने विश्वास गरिएको छ ।

तर तिहारको पहिलो दिन भने यी सबै नकारात्मक धारणालाई बिर्सी कागको पूजा गरिन्छ । आजको दिन कागलाई खान नदिए पाप लाग्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले बिहानै घर आँगनमा काग बोलाएर भात, दाल, मिठाई लगायतका परिकार चढाइन्छ ।


आजको दिनलाई धन्वन्तरी जयन्तीका रूपमा पनि मनाइन्छ । समुद्र मन्थनका बेला उत्पन्न भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको जन्मजयन्ती आजकै दिन परेको हो । साथै, आज साँझ यमदिप दान गर्ने परम्परा पनि रहेको छ । घरको दक्षिण दिशातर्फ दियो बालेर दान गर्नाले यमराजको यातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।

