

काठमाडौं । यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा सोमबार विशेष कार्यक्रम गरी कुकुर पूजा सम्पन्न गरिएको छ ।

कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले कार्यालय प्राङ्गणमा रहेको प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै विभिन्न जातका प्रहरी कुकुरहरूलाई पूजाआजा गर्नुभयो ।

सो अवसरमा यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुँघ्रु’ र उत्कृष्ट अपराध अनुसन्धान कुकुर तथा दौड प्रतियोगितामा प्रथम भएका ‘टाइगर’ लाई पुरस्कार प्रदान गरिएको थियो । साथै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो ।


समारोहलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक डा. सत्यालले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाईन सेवाले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा केनाईन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति र भौतिक स्रोत साधन सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरूले पुष्पवर्षा, आज्ञापालन, बाधा पार र दौड प्रतियोगितासहितका मनोरञ्जनात्मक प्रदर्शन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले तथा धन्यवाद मन्तव्य प्राविधिक प्रहरी निरीक्षक कृष्णबहादुर बस्नेतले व्यक्त गर्नुभएको थियो ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउनका लागि लामो समयदेखि तालिमप्राप्त कुकुरहरूको प्रयोग हुँदै आएको छ । कार्यक्रममा प्रहरी अधिकारी तथा जवानहरू, सञ्चारकर्मीहरू र आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

