

झापा । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको मोबाइल टोलीले ठुलो परिमाणमा लागूऔषध, नेपाली रुपैयाँ र सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले प्राप्त विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका–१० स्थित मेचिपुल इलाकामा भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेका एक व्यक्तिमाथि चेकजाँच गरेको थियो। सो क्रममा जिल्ला दोलखा, झ्याकु गा.वि.स.–६ बस्ने ४३ वर्षीय नङ्ग बहादुर बस्नेत पक्राउ परेका हुन्।
बस्नेतको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ४०.१८ ग्राम, नेपाली रुपैयाँ १० लाख ५१ हजार १ सय २०, र करीब १९ लाख ६९ हजार ३०८ रुपैयाँ मूल्य बराबरको २८ ग्राम सुन (२ थान सिक्री र २ थान औंठी) बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त कार्यवाही सशस्त्र प्रहरी निरीक्षक दिवश न्यौपानेको कमाण्डमा खटिएको टोलीले गरेको हो। पक्राउ परेका बस्नेतलाई लागूऔषध, नगद र सुनसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा, झापामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

