

काठमाडौं – नेपालबाट मनसुन बाहिरिएसँगै चिसो सुरु भएको छ । चिसो मौसमसँगै बसाइँ सर्ने चराहरू नेपाल आउन थालेका छन् । बसाइँ सराइ गरी बर्सेनि १०० भन्दा बढी प्रजातिका चराहरू नेपाल आउने गर्छन् । त्यसमा धेरैजसो पानी चरा र हाँसहरू हुन्छन् । चिल, बाज, फिस्टे, गिद्धजस्ता अरु चराहरू पनि उपयुक्त मौसमको खोजीमा नेपाल आइपुग्ने गर्छन् ।

हालसम्म ९०० भन्दा बढी प्रजातिका चराहरू नेपालमा अभिलेख भएका छन् । धेरै प्रजातिका चराहरू नेपालमा विश्राम मात्र गरेर अन्य देशमा जाने गर्छन् । कर्याङकुरुङजस्ता अन्य केही प्रजातिका चराहरू नेपालमा विश्राम नगरी आकाशबाटै भारततर्फ जाने गर्छन् ।

जाडो याममा नेपाल आउने चराहरूले कोसी, कर्णाली, नारायणी, राप्ती, फेवा ताल, जगदिसपुर ताल, घोडाघोडी ताल, बर्जु तालजस्ता ठुला नदी र पोखरीहरूमा बस्न रुचाउँछन् । हरेक वर्ष जनावरीमा देश वरिपरिका प्रमुख बासस्थानहरूमा बसाइँ सरेर आउने पनि चराहरूको गणना हुन्छ र लाखौँको संख्यामा अभिलेख गरिन्छ ।


चखेवा, खोया हाँस, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइरोपुच्र्छे आदि चराहरू ठूलो संख्यामा नेपाल आउने गर्छन् भने श्वेतमाथा कलहाँस, देवदुत मनितुन्दक, देवहाँसजस्ता चरा भने निकै कम संख्यामा आउने गर्छन् ।

