Aamsanchar

गोरखामा हिमपात, स्थानीय र पर्यटक प्रभावित

Author Image
मङ्गलवार, कार्तिक ११, २०८२

गोरखा – उत्तरी गोरखाका विभिन्न गाउँहरुमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातीदेखि हिमपात भइरहेको स्थानीयहरुले बताएका छन् ।

हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका ७ का पासाङफुञ्जो लामाले जानकारी दिए । ‘गए राती ११ बजेतिरबाट पानी पर्न सुरु भएको थियो । एक बजेतिरबाट हिउँ पर्न थाल्यो । अहिलेसम्म पनि हिउँ परिरहेको छ’, उनले भने, ‘अहिले मान्छेहरु घरभित्रै आगो तापेर बसिरहेका छन् । चौरीहरु पनि भित्रको भित्रै छन् ।’

सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङदुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायतका गाउँ हिउँले ढाकिएका छन् ।

त्यस्तै वडा नं. १ को सामागाउँ, साम्दो, वडा नं. २ को स्याला, ल्होलगायतका गाउँ पनि हिउँले ढाकिएको छ । हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । ५१०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटकहरु सामागाउँ, साम्दोमै रोकिएका स्थानीयले बताएका छन् ।

Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर