

अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेकी छन्। त्यसक्रममा दुवै देशले आपसी सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गरेका छन्।

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा गर्दै उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी भइरहेको ह्वाइट हाउसले जनाएको छ।

एसिया भ्रमणको दोस्रो चरणमा जापान पुगेका राष्ट्रपति ट्रम्पले ताकाइचीसँगको भेटमा जापानलाई ‘सबैभन्दा बलियो सहयोगी’ भन्दै व्यापार र सुरक्षामा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। “हामी सबैभन्दा उच्च स्तरका सहयोगी हौँ र तपाईंसँग काम गर्न पाउनु मेरो लागि सम्मान हो”, ट्रम्पले ताकाइचीलाई सम्बोधन गर्दै भने।


ताकाइचीले थाइल्यान्ड–कम्बोडिया युद्धविराम र गाजा सम्झौतामा ट्रम्पको प्रयासलाई ‘ऐतिहासिक उपलब्धि’ भन्दै प्रशंसा गरे। उनले जापान–अमेरिका गठबन्धनलाई ‘बलियो र समृद्ध स्वर्ण युग’ मा रूपान्तरण गर्ने दृढता व्यक्त गरे।
दुवै नेताले महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वीको आपूर्ति शृङ्खला सुदृढ पार्ने सम्झौतामा हस्ताक्षर गरे। यो सम्झौता चीनले दुर्लभ पृथ्वी उद्योगमा लगाएको प्रतिबन्ध र अमेरिकी आयातमा ट्रम्पले घोषणा गरेका १०० प्रतिशत करको प्रतिक्रियामा आएको हो।
ट्रम्पले जापानी खेलाडी ओहतानी र यामामोटोको वल्र्ड सिरिज खेल हेर्दा ढिलो भएको भन्दै क्षमायाचना पनि गरे।
मलेसियाको भ्रमणपछि र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको दक्षिण कोरियाली वार्ताअघि टोकियो पुगेका ट्रम्पको यो भेटले व्यापार तनाव घटाउने अपेक्षा गरिएको छ।
अब ट्रम्पको मुख्य लक्ष्य चीनसँगको व्यापार सम्झौता हो। उनले बिहीबार दक्षिण कोरियामा राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटवार्ता गर्ने तयारी गरेका छन्। त्यसपछि उत्तर कोरियाली नेता किम जोङ–अनसँग सम्भावित भेटको सङ्केत दिएका छन्।

