Aamsanchar

विप्लवद्वारा घोषणाको ११ वर्षपछि दल दर्ताको निवेदन

Author Image
मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणाको ११ वर्षपछि दल दर्ताको निवेदन दिएका छन् । मंगलबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वको टोलीले काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिएको हो ।

पार्टीको नाम ‘कम्युनिस्ट पार्टी, नेपाल’ प्रस्ताव गरिएको छ । पार्टीको चुनाव चिह्न भने छलफलमै रहेको प्रकाण्डले बताए ।

२०६९ सालमा तत्कालीन एकीकृत माओवादीबाट अलग भएका विप्लव त्यसपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा सचिवको जिम्मेवारीमा रहे ।

२०७१ सालमा वैद्यबाट अलग हुँदै विप्लवले आफ्नो नेतृत्वमा नेकपा गठन गरेका थिए । माओवादीबाट अलग भएपछि विप्लवले संसद् बाहिर रहेका कम्युनिस्ट पार्टीसँग मोर्चाबन्दी गरेका थिए । नेकपाले २०७४ को निर्वाचन बहिस्कार गरेको थियो । तत्कालीन नेकपाकै सरकारले तत्कालीन विप्लव समूहलाई ०७५ फागुन २८ गते प्रतिवन्ध लगाएको थियो ।

०७७ फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध फुकुवा गरेको थियो । तीन बुँदे सहमति गरी हिंसा छाड्दै शान्तिपूर्ण राजनीतिमा आउने उल्लेख थियो । ०७९ को स्थानीय निर्वाचनका सन्दर्भमा पार्टीभित्र मतक्यैता नभएपछि चुनावमा जानेबारे स्पष्ट निर्णय भएका थिएन ।

तर, केही उमेदवारलाई समर्थन गर्ने, केही स्वतन्त्र रुपमा निर्वाचनमा उठेका थिए । संसदीय राजनीतिको विरोध गर्दै आएका विप्लव ०७९ असारमा तत्कालीन सत्तारुढ दलहरु सम्मिलित मोर्चामा समावेश भए ।

०७९ असार ४ मा घोषणा भएको समाजवादी मोर्चामा हाल नेकपा माओवादी, नेकपा (एकीकृत समाजवादी),नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टीबाट विभाजित महेन्द्रराय यादवको समूह रहेको छ । मोर्चाको संयोजकमा विप्लव छन् ।

त्यसो त, मोर्चाबीच एकताको चर्चा बेलाबखत चल्ने गरेको छ । विप्लवको माओवादीसँग एकताका लागि छलफल भएको थियो । एकताको निर्णय पनि गरेको थियो ।

एकताको छलफल चले पनि सार्थकता नपाएपछि दल दर्ताका लागि निवेदन दिएको उनीहरु बताउँँछन् ।

०८१ पुसमा बसेको केन्द्रीय कमिटी बैठकले २०८४ को चुनावमा भाग लिने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिपछि विप्लवले दल दर्ता गर्न लागेका हुन् ।

नयाँ दल दर्ताका लागि आयोगले कात्तिक मसान्तसम्मको समयावधि तोकेको छ । आयोगमा दर्ता भएका दलले मात्रै चुनावमा सहभागी हुन पाउने व्यवस्था छ ।

Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर