

काठमाडौं ।
हास्य कलाकार हिमेस पन्तले आफ्नो पुरानो चुनावी फोटोसहित सामाजिक सञ्जालमा लेखेको व्यङ्ग्यात्मक स्टाटस अहिले भाइरल बनेको छ।
“फोटो पुरानो भयो, तर तपाईंहरूको सोच किन अझै पुरानै छ ?” भन्ने वाक्यसहितको उनको पोस्टमा व्यङ्ग्य, आत्मविश्वास र सामाजिक सन्देश तीनै मिसिएको देखिन्छ।

पन्तले स्टाटसमा लेखेका छन् —
“त्यो फोटो त्यतिबेला खिचिएको हो, जब देशको हरेक युवा ‘केही गर्नुपर्छ’ भन्ने जोशमा थिए। चुनाव उठ्दै गर्दा मैले पनि सोचेको थिएँ — ‘जिते काम गरिन्छ, हारे गर्वले आफ्नै काममा फर्किन्छ।’
१२ हजार ४५० मत ल्याएँ, सम्मानपूर्वक फर्किएँ — झोले भएर होइन, जिम्मेवार नागरिक भएर।”

उनका अनुसार पछिल्लो समय केही व्यक्तिहरूले उनको पुरानो चुनावी फोटो निकालेर सामाजिक सञ्जालमा व्यङ्ग्यका रूपमा प्रयोग गर्न थालेपछि उनले सोही प्रतिक्रियास्वरूप उक्त स्टाटस लेखेका हुन्।


पन्तले लेखेका छन् —
“अचम्म लाग्छ, जसले विवेकपूर्वक भोट हाल्न पनि सकेका छैनन्, त्यही विवेकहीनहरूले मेरो पुरानो फोटो खोज्दै कमेन्ट पोस्ट्याउँछन् — मानौं मोनालिसाकै दोस्रो फोटो भेटे जस्तो।”
राजनीतिबाट टाढा भए पनि देश र समाजप्रति सरोकार यथावत रहेको उल्लेख गर्दै उनले थपेका छन् —
“कम्तिमा मैले केही गर्ने प्रयास त गरेँ, तपाईंहरूले के गर्नुभयो ? अर्को चुनावमा नयाँ फोटो दिने छु — DSLR ले खिचेर, फ्रेम बनाएर वालमा झुन्ड्याउनुस्, कमेन्ट गर्न सजिलो हुन्छ।”
हास्य र व्यङ्ग्यलाई सामाजिक सन्देशसँग जोड्ने शैलीका लागि चर्चित हिमेस पन्तको यो पोस्टमा धेरैले “राजनीतिमा पनि सोच बदल्ने व्यङ्ग्य” रहेको टिप्पणी गरेका छन्।


