

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुस १६ देखि १९ गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

केन्द्रीय समिति महाधिवेशनलाई लिएर पक्ष–विपक्षमा विभाजित भइरहेका बेला महामन्त्री शर्माले चार विकल्प प्रस्तुत गर्दै पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन् ।

“थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौँ । त्यसका लागि पुस १६ देखि १९ सम्मको मिति उपयुक्त हुन्छ भन्ने मेरो आग्रह छ,” शर्माले भनेका छन्, “पुस १६ जननायक बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको ऐतिहासिक मिति पनि हो ।”

उनले राष्ट्रिय राजनीतिलाई सही ट्र्याकमा ल्याउन सबै राजनीतिक दलसँग संवाद थाल्न पनि आग्रह गरेका छन् । साथै, उनले जेनजीसँग वार्ताका लागि तीन सदस्यीय कार्यदल बनाउन पनि प्रस्ताव गरेका छन् ।
शर्माले नियमित महाधिवेशनको प्रस्तावलाई भने चौथो विकल्पका रूपमा प्रस्तुत गरेका छन् । पहिलो विकल्पका रूपमा, महामन्त्री गगन थापाले सार्वजनिक गरेको मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिबाट पारित गरेर कार्यान्वयन गर्ने छ ।
दोस्रो विकल्पका रूपमा, केन्द्रीय समितिबाटै निर्णय गरेर मंसिर मसान्तभित्रै विशेष महाधिवेशनको छ । तेस्रो विकल्पमा, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा मंसिर मसान्तभित्रै महाधिवेशन गर्ने छ ।

