

काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमतीविना काठमाडौँ उपत्यका छाड्न नपाउने सरकारी निर्णयविरुद्धको रिटमा पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

अधिवक्ता डा। प्रेमराज सिलवालले ओली र लेखकलाई स्थानहद तोक्नु कानून विपरीत हुने भन्दै दिएको रिट निवेदनमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगलाई आदेश गरेको छ।

जेन–जी आन्दोलन भदौँ २३ र २४ को दमन र आगजनीबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा सरकारले ओली, लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतीविना काठमाडौँ उपत्यका छाड्न रोक लगाएको थियो।

यसअघि तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि त्यस्तै निर्णय भएको थियो तर सरकारी कामकाजका लागि उनी बाहिर जानुपर्ने भन्दै सरकारले स्थानहद खुलाएको थियो।
यसअघि संसद विघटनविरुद्धको रिटमा पनि सर्वोच्चले अन्तरिक आदेश दिएको थिएन।

