

इलाम – अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग शनिबार (कात्तिक १५) पनि बन्द छ । राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवालीखण्डमा पहिरो खसेपछि अवरुद्ध सडक खोल्न भरमग्दुर प्रयास भइरहेको सम्बन्धित निकायका अधिकारीले बताएका छन् ।

सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार, पहिरो पन्छाइए पनि सडक भासिने क्रम रोकिएको छैन । “सडक खुलाउन हामी अहोरात्र खटेका छौँ, तर सडक भासिने क्रम रोकिएको छैन,” उनले भने ।

मेची राजमार्ग अवरुद्ध हुँदा इलामसहित, पाँचथर, ताप्लेजुङ र झापाका यात्री प्रभावित भएका छन् । इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन गोलाखर्क भञ्ज्याङमा रोकिएका छन् । झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन् ।


वैकल्पिक सडकका रूपमा प्रयोग गरिँदै आएको मेची करिडोर (केचना–कञ्चनजंघा सडक)अन्तर्गत बेलासेस्थित माईखोलाको पुल गएको असोज १८ गतेको बाढीले भाँचिएको थियो । अर्कोतर्फ, तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाई खोलाको ‘डाइभर्सन’मा बिहीबार (कात्तिक १३)को बाढीले क्षति भएपछि इलामबाट झापा जाने यात्री पनि मर्कामा परेका छन् ।

