सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशमा जारी श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग कार्यक्रममा भक्तजनको भीड दिनानुदिन बढ्दै गएको छ। आइतबार तेस्रो दिनसम्म आइपुग्दा देशका विभिन्न जिल्ला र भारतका अनेक स्थानबाट आएका हजारौं भक्तजनले केन्द्रमा स्थापित १०८ शिवलिङ्गको दर्शन गरेका छन्।

कार्यक्रम कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरेका थिए भने दोस्रो दिन मुख्यमन्त्री हिकमत कुमार कार्कीले सम्बोधन गर्दै इटहरीलाई धार्मिक–पर्यटकीय केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका थिए।

केन्द्रका उपाध्यक्ष हिरा आचार्यका अनुसार शिवलिङ्ग स्थापनापछि यस क्षेत्रमा धार्मिक वातावरण सृजना भएको छ। झण्डै १९ हजारभन्दा बढी भक्तजनको उपस्थिती रहेको छ ।

करिब ३६ लाख रुपैयाँ लागतमा भक्तपुरका कलात्मक इँटा र नेपालकै शिलाबाट शिवलिङ्गहरू निर्माण गरिएको समितिका संयोजक बाबुराम सुवेदीले बताए।


विशेष प्राणप्रतिष्ठा अनुष्ठान कार्तिक १७ देखि १९ गतेसम्म हुने जनाइएको छ, जसमा नेपाल र भारतका प्रमुख धार्मिक व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

