Aamsanchar

माईधारको सामूहिक षड्यन्त्रः अपहरण, फिरौती र हत्या—एक युवाको ज्यानसंगै ब्राउनसुगरको साङ्लो

Author Image
आइतवार, कार्तिक १६, २०८२

विशेष रिपोर्ट । झापा ।

झापाको शिवसताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या कुनै सामान्य घटना होइन । यो घटना एउटा योजनाबद्ध अपहरण, आर्थिक प्रलोभन र लागूऔषध कारोबारको जालोमा अडिएको रहस्यपूर्ण कथा हो—जहाँ मामा–भान्जाको षड्यन्त्रले एउटा परिवारको संसार नै उजाड बनायो ।

योजनाको सुरुवातः सुनको लोभ र झुटो विश्वास

काठमाडौँमा सूचना प्रविधिको काम गर्दै आएका सरोज दशैं–तिहारका लागि नयाँ गाडीसहित घर आएका थिए । उनी र उनका पुराना साथी सुनिल साहबीच भेट भयो । सरोजले ‘सस्तोमा सुन किन्ने र काठमाडौँमा महँगोमा बेच्ने’ प्रस्ताव राखे । यो लोभपूर्ण विचारले सुनिललाई आकर्षित ग¥यो । तर त्यसैबाट सुरु भयो अपराधको यात्रा ।

सुनिलले सरोजलाई “सुन ल्याएको छु, आउँ हेर्न” भन्दै अर्जुनधारा–४ स्थित दहिझोडा सामुदायिक वनमा बोलाए । त्यही समयमा उनले आफ्नो भान्जा राहुल साहलाई पनि बोलाएका थिए । योजना थियो—सरोजलाई अपहरण गरेर फिरौती असुल्ने ।

तर, परिस्थिति उनीहरूले सोचेझैं चल्दैन । अपहरणको प्रयास असफल भएपछि दुवैले सरोजलाई हथौडाले प्रहार गरी हत्या गरे ।

शव डिक्कीमा, कार जलाउने प्रयास

हत्यापछि उनीहरूले एक जना भारतीय सहयोगीको साथमा सरोजको सेल्टस कार (बा प्र ०१–०३०–च ७१९४) को डिक्कीमा शव राखे र झापा गाउँपालिका–५ बिरिङ खोलाको पुलमुनि पुरिहाले । गाडी भने जंगलभित्र लुकाएर राखे ।

भोलिपल्ट प्रहरीले सुनिललाई पक्राउ ग¥यो, तर प्रमाण नपाएपछि छाड्नुप¥यो । त्यसपछि अपराध लुकाउन उनले कात्तिक १३ गते बिहान १० बजे चारआली–भद्रपुर सडक नजिकै हातेमालो सामुदायिक वनभित्र कारमा आगो लगाएर जलाए ।

तर, घटनास्थलमै प्रहरीले एउटा चप्पल फेला पा¥यो—उनीकै। यही वस्तुले केसको दिशा मोडिदियो। त्यसपछि प्रहरीको अनुसन्धानले सुनिल र राहुल दुवैको संलग्नता पुष्टि ग¥यो ।

लागूऔषधको संलग्नताः हत्यारासँग ब्राउनसुगर

हत्या अनुसन्धानका क्रममा प्रहरीले हत्यारासँग करिब एक केजी ब्राउनसुगरजस्तो पदार्थ बरामद गरेको छ । प्रहरीले लिसाइलो पदार्थलाई परीक्षणका लागि प्रयोगशालामा पठाएको छ ।

डीएसपी खगेन्द्र खड्काका अनुसार, “हत्या मात्रै होइन, लागूऔषध कारोवार र फिरौतीको योजनामा पनि उनीहरूको संलग्नता देखिएको छ।”

अपराधको पृष्ठभूमिः मामा–भान्जा र फरार भारतीय

मुख्य योजनाकार सुनिल साह, उनका भान्जा राहुल साह र एक भारतीय युवक मिलेर अपराध गरेको प्रहरीले पुष्टि गरेको छ । ती भारतीय हाल फरार छन् ।

पक्राउ परेका सुनिल र राहुललाई अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, उपद्रव र ज्यान मुद्दामा झापा जिल्ला अदालतले सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरी अनुसन्धान र अन्त्येष्टि

प्रहरीले घटनाको सबै शृङ्खला जोड्दै ९ गतेकै साँझ हत्या भएको पुष्टि गरेको छ । शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरी आज कन्काई माईमा अन्त्येष्टि गरिएको छ ।

एउटा परिवारको उज्यालो निभ्यो

आईटी क्षेत्रमा आफ्नो भविष्य बनाउँदै गरेका सरोज गाउँमा सबैका प्रिय थिए । परिवार र साथीभाइबीच उनको मृदु व्यवहारको चर्चा हुन्थ्यो । तर, लोभ, षड्यन्त्र र अपराधको अन्धकारले उनको जीवन मात्र होइन, गाउँकै विश्वासलाई समेत जलायो ।

Views: 1301

प्रतिक्रिया (०)