

झापा । रुपन्देहीका चार उद्योगले लामो समयदेखिको विद्युत् महसुल बक्यौता बुझाएका छन्। नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गर्दै आएका ती उद्योगहरूले सोमबार पहिलो किस्ता तिरेपछि कटाइएको लाइन पुनः जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन्।

भैरहवा क्षेत्रमा रहेका पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिक उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम महसुल बक्यौता बुझाएका हुन्।

चारै उद्योगमध्ये सिद्धार्थ पेटप्लान्टको सबैभन्दा बढी १ करोड ८३ लाख रुपैयाँ, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार, श्याम प्लास्टिकको ४९ लाख १० हजार र पञ्चकन्या प्लास्टिकको २४ लाख ६३ हजार रुपैयाँ बक्यौता रहेको थियो।


प्राधिकरणका अनुसार बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरिएको छ, जसको पहिलो किस्ता उद्योगहरूले सोमबार तिरेका हुन्। पहिलो किस्ता बुझाएसँगै विद्युत् आपूर्ति पुनः सुचारु गरिएको जनाइएको छ।

