


झापा- जनही १०–१० हजार रुपैयाँ धरौटी तिरेर बिर्तामोडका नौ जना जुवाडे रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार पक्राउ परेकाहरूले हिजो जनही १० हजारका दरले धरौटी बुझाएर रिहा भएका हुन्। अनुसन्धानका लागि प्रहरीले पाँच दिनको म्याद लिएकोमा उनीहरू चार दिनमै रिहा भएका हुन्। राजनीतिक दलसँग निकट रहेका केही पक्राउ परेकालाई छुटाउन नेताहरूले समेत पहल गरेका थिए।
गत शुक्रबार राति करिब १ः४५ बजे बिर्तामोड–४, पश्चिम स्टेन्ड नजिक बाह्रदशी–४ का २९ वर्षीय राजकुमार साहको कोठामा तास खेलिरहेका नौ जना जुवाडे पक्राउ परेका थिए।
पक्राउ परेकामा बिर्तामोड–२ का ३८ वर्षीय रतन राजवंशी, २६ वर्षीय किशोर पराजुली, ४३ वर्षीय उत्तम शिवाकोटी र ४३ वर्षीय राजन थापा, बिर्तामोड–३ का ४० वर्षीय डम्बर बस्नेत र ४० वर्षीय दिवाकर प्रसाईं, बिर्तामोड–५ का ३६ वर्षीय राजेन्द्र चौधरी, बाह्रदशी–४ का राजकुमार साह र मेचीनगर–२ का २८ वर्षीय नारायण पराजुली रहेका छन्।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। उनीहरूबाट नगद रु ७५ हजार ६ सय, नखोलेका सात बुङ तास र खोलेको एक बुङ तास बरामद गरिएको प्रहरीले जनाएको छ।

