Aamsanchar

मोरङ क्षेत्र नम्बर ५ का निवर्तमान सांसद मण्डलले नयाँ दल दर्ता गर्ने

Author Image
बुधवार, कार्तिक १९, २०८२

विराटनगर- मोरङ क्षेत्र नम्बर ५ का निवर्तमान सांसद योगेन्द्र मण्डलले नयाँ दल दर्ता गर्ने भएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका मण्डलले राष्ट्रिय ऊर्जाशील पार्टी दर्ताको तयारी गरेका हुन् ।

उनको टिमले दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएको छ । नाम राष्ट्रिय ऊर्जाशील पार्टी र चुनाव चिह्न चापाकल प्रस्ताव गरिएको छ । केन्द्रीय सदस्य तत्काललाई ३१ सदस्यीय प्रस्ताव गरिएको छ । २०५४ सालयता सामाजिक क्षेत्रमा सक्रिय मण्डल एमाले निकट थिए । एमाले त्यागेर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जिते । निर्वाचन जित्दा उनको चुनाव चिह्न चापाकल थियो । नयाँ दल दर्ता गर्नुअघि उनले आफ्ना क्षेत्रका मतदातासँग लिखित तथा मौखिक सुझाव माग गरेका थिए ।

अब केही गरौं भन्दै टोल–टोल पुग्दा उनलाई अधिकांश मतदाताले परम्परागत दल भन्दा भिन्न दल बनाउन सुझाव दिएको उनको दाबी छ । ‘९० प्रतिशत भन्दा बढी मतदाताहरुबाट नयाँ दल खोलेर अघि बढ्ने सल्लाह आयो,’ उनले भने,‘ देशभरबाट सुझाव आएपछि अघि बढ्यौं,’ उनले भने । उनले सामूहिक सहभागितामा दल दर्ताको प्रक्रिया अघि बढाएको बताए । ‘एकल प्रयास होइन, देशभरबाट ऊर्जाशील साथीहरू जोडिनु भएको छ,’ उनले भने ।

गत निर्वाचनमा उनले तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता शिवकुमार मण्डल र एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकुमार यादवलाई पराजित गरेका थिए । निर्वाचनमा मण्डलले २१ हजार ८ सय २० मत पाएका थिए । दोस्रो भएका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत ल्याएका थिए । २०५४ सालयता जीवन विकास समाजमार्फत सामाजिक गतिविधिमा संलग्न मण्डलले शिक्षा, स्वास्थ्य, कृषि र लघुवित्तको क्षेत्रमा काम गरेका छन् ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर