बिर्तामोड ।
नेकपा एमाले बिर्तामोड नगर कमिटीको संयोजन र व्यवस्थापनमा कात्तिक ५ गते अतिथि सदनमा आयोजना गरिएको सामुहिक देउसी कार्यक्रमको आय–व्यय विवरण विशेष कार्यक्रमका बीच आज सार्वजनिक गरिएको छ ।

नगर कमिटीका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले अतिथि सदन पुगेर देउसी कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति आभार व्यक्त गर्दै आर्थिक पारदर्शिताका लागि सार्वजनिक विवरण प्रस्तुत गरिएको जानकारी दिनुभयो ।




कार्यक्रमबाट जम्मा २ लाख १ हजार २७० रुपैयाँ आम्दानी र ५४ हजार १३० रुपैयाँ खर्च भएको बताइएको छ । बाँकी १ लाख ४७ हजार १४० रुपैयाँ नगर पार्टी कमिटीको कार्यालय तथा बहाल खर्चमा प्रयोग गर्ने गरी राखिएको जानकारी अध्यक्ष भट्टराईले दिनुभयो ।
देउसी कार्यक्रम सफल बनाउन सक्रिय भूमिका खेलेका नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर समिति र राष्ट्रिय जनसांस्कृतिक महासंघ बिर्तामोड नगर समितिलाई प्रशंसापत्र प्रदान गरिएको थियो । सो सम्मानपत्र क्रमशः महासंघका नगर अध्यक्षहरू युवराज निरौला र प्रेमकुमार खरेललाई हस्तान्तरण गरिएको हो ।
त्यसैगरी, शान्ति सुरक्षा र व्यवस्थापनमा सहयोग गर्ने युवाहरुको समूहलाई पनि सम्मानपत्र र खादा ओढाइ सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन नगर कमिटीका सचिव अम्बिका लिङ्देनले गर्नुभएको थियो भने कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य अमृतलाल राजवंशी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरिचरण सिवाकोटी, नेपाल उद्योग तथा व्यवसायी महासंघ झापा अध्यक्ष पर्वत कार्की, र राष्ट्रिय जनसांस्कृतिक महासंघ झापा अध्यक्ष डा। कुमार सुवेदी लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

